काठमाडौं । जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथि गरिएको कारबाही नेपाली कांग्रेसले फुकुवा गरेको छ । निर्वाचनमा बागी उम्मेदवारी दिएर जितेका साहलाई कांग्रेसले गरेको कारबाही फिर्ता लिएको हो ।
उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसले जनता समाजवादी पार्टी जसपाका लालकिशोर साहलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर पार्टीको निर्देशन विपरीत मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो ।
कांग्रेस अनुशासन समितिका संयोजक आनन्दकुमार ढुंगानाले धनुषा जिल्ला सभापतिलाई पत्र पठाउँदै मनोजकुमार साहमाथिको कारबाही फुकुवा भएकाले उनलाई साबिककै जिम्मेवारीमा रहेर कामकाज गर्न दिन निर्देशन दिएका छन् ।
साहले हिजोका दिनमा गरेको गतिविधिमा आत्मालोचना गर्दै पार्टीको सिद्धान्त र नीतिमा रहेर कामकारबाही गर्न निवेदन दिएकाले उनीमाथिको कारबाही फुकुवा गरिएको ढुंगानाले स्पष्ट पारेका छन् ।




























