इजरायलबाट थप १८ नेपाली नयाँदिल्ली आइपुगे, घर जानका लागि गाडीको व्यवस्था

इजरायलबाट थप १८ नेपाली नयाँदिल्ली आइपुगे, घर जानका लागि गाडीको व्यवस्था

काठमाडौं । भारतको स्पाइस जेटमार्फत इजरायलबाट १८ जना नेपाली भारतको राजधानी दिल्ली आइपुगेका छन् ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

नेपाली दूतावासले समन्वय गरेर उनीहरूलाई इजरायलबाट फिर्ता ल्याएको हो । भारत आइपुगेका नेपालीमध्ये चार जना विद्यार्थी रहेका छन् । उनीहरू बस्ने ठाउँ टाढा भएका कारण यसअघिको उद्धारको बेला छुटेको बताइएको छ ।

उनीहरुलाई राजदूत शर्माले नयाँदिल्लीमा स्वागत गरेका थिए ।उनीहरूमध्ये केहीलाई बसबाट महेन्द्रनगर हुँदै घर जाने व्यवस्था गरेको र केही आजै प्लेनमा काठमाडौं आउने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि नेपाल सरकारले विमान चार्टर्ड गरी २ सय ५४ नेपालीको इजरायलबाट उद्धार गरेको थियो । युद्धमा १० जना नेपाली विद्यार्थीले  ज्यान गुमाएका थिए । उनीहरूको शव अहिले पनि इजरायलमै छ । एक जना विद्यार्थी बेपत्ता छन् ।