युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय

युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय

सियोल । रुस–युक्रेन युद्धमा आफ्ना सैनिकको संलग्नता थप प्रस्ट पार्दै उत्तर कोरियाले मारिएका सैनिकहरूको सम्झनामा प्योङयाङमा स्मारक सङ्ग्रहालय स्थापना गरेको छ । दुई देशबीच बढ्दो सैन्य सहकार्यको सङ्केतका रूपमा आएको यो कदमले उत्तर कोरिया र रुसको सम्बन्ध अझ मजबुत बन्दै गएको देखाएको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उक्त सङ्ग्रहालयको उद्घाटन आइतबार कुस्र्क क्षेत्रमा भएको सैन्य अभियानको अन्त्य भएको एक वर्ष पूरा भएको अवसरमा गरिएको हो । कार्यक्रममा नेता किम जोङ उनले रुसका उच्च अधिकारीहरूसँग सहभागिता जनाएका थिए, जसमा राज्य डुमाका सभामुख व्याचेस्लाभ भोलोडिन र रक्षामन्त्री आन्द्रेई बेलोसोभ पनि सहभागी थिए ।

कार्यक्रमका क्रममा किमले युद्धमा मारिएका एक सैनिकको शवमा माटो चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका थिए भने अन्य सैनिकहरूको सम्मानमा फूल अर्पण गरिएको थियो । त्यसपछि किम तथा रूसी अधिकारीहरूले अतिथि पुस्तिकामा सन्देश लेखेका थिए । आफ्नो सम्बोधनमा किमले ती सैनिकहरूको बलिदानलाई कोरियाली जनताको वीरताको प्रतीकका रूपमा चित्रण गर्दै यसलाई कोरिया–रुस मित्रताको प्रतीकात्मक उपलब्धि बताए । अप्रिल २०२५ मा उत्तर कोरिया र रुसले संयुक्त रूपमा आफ्ना सैनिकहरूले रुसको कुस्र्क क्षेत्रमा युक्रेनी आक्रमण रोक्न सँगै लडेको सार्वजनिक गरेका थिए । यद्यपि तैनाथ सैनिकहरूको आधिकारिक सङ्ख्या खुलाइएको छैन । दक्षिण कोरियाको गुप्तचर निकायले भने करिब १५ हजार उत्तर कोरियाली सैनिक पठाइएको र तीमध्ये झन्डै दुई हजार मारिएको अनुमान गरेको छ ।

रक्षामन्त्री बेलोसोभसँगको भेटमा किमले रुसको सुरक्षा नीतिप्रति पूर्ण समर्थन जनाउँदै आगामी वर्षहरूका लागि द्विपक्षीय सैन्य सहकार्य विस्तार गर्ने सङ्केत गरेका थिए । रूसी समाचार एजेन्सी तासका अनुसार दुवै पक्ष सन् २०२७ देखि २०३१ सम्मको सैन्य सहकार्य योजनामा हस्ताक्षर गर्न तयार रहेका छन् ।समारोहमा वाचन गरिएको सन्देशमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ सङ्ग्रहालयलाई दुई देशबीचको मित्रता र एकताको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनले उत्तर कोरिया र रुसबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता उत्तर कोरियाले मस्कोलाई हतियार र सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ । बदलामा उसले आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गरिरहेको अनुमान गरिएको छ । विशेषगरी रुसले उत्तर कोरियालाई आणविक र मिसाइल प्रविधि हस्तान्तरण गर्न सक्ने सम्भावनाका कारण यसले दक्षिण कोरिया, अमेरिका र उनका सहयोगीहरूमा चिन्ता बढाएको छ । विज्ञहरूका अनुसार सुरुमा उत्तर कोरियाली सैनिकहरू युद्ध अनुभवको अभाव र अपरिचित भूभागका कारण कमजोर सावित भएका थिए । तर पछिल्लो समय उनीहरूले युद्ध अनुभव हासिल गर्दै गएको र कुस्र्क क्षेत्रमा ठूलो सङ्ख्यामा सैनिक परिचालन गरेर रुसको रणनीतिमा महत्त्वपूर्ण भूमिका खेलेको आकलन गरिएको छ ।