काठमाडौँ । घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमित बस्ती हटाइएपछि विस्थापित भएका सुकुम्वासीहरू अहिले वर्षाको मारमा परेर थप समस्यामा परेका छन्।
घरटहरा भत्काइएपछि खुला आकाशमुनि बस्न बाध्य बनेका उनीहरूका लत्ताकपडा, खाद्यान्न तथा दैनिक उपभोगका सामग्री वर्षाले भिजाउँदा दैनिकी झनै कष्टकर बनेको हो।
शनिबारदेखि सुरु भएको बस्ती खाली गराउने अभियानपछि धेरैजसो परिवारले आफ्नो सरसामान बाहिर चौरमा थुपारेर राखेका छन्। तर सुरक्षित भण्डारण वा अस्थायी आवासको व्यवस्था नहुँदा वर्षासँगै आएको पानीले ती सामग्री भिजाएको छ। विशेषगरी ओड्ने–ओछ्याउने कपडा, चामल, दाल, नुन, तेलजस्ता खाद्यान्न र अन्य अत्यावश्यक सामग्री पानीले नोक्सान पुगेपछि सुकुम्वासीहरू थप संकटमा परेका छन्।
विस्थापनसँगै उनीहरूलाई सबैभन्दा ठूलो समस्या सुरक्षित बसोबासको भएको देखिन्छ। काठमाडौँजस्तो महँगो शहरमा तत्काल डेरा पाउन कठिन हुँदा धेरै परिवार अझै खुला ठाउँमै बस्न बाध्य छन्। कतिपयले आफन्तकहाँ वा अन्यत्र अस्थायी रूपमा आश्रय लिए पनि धेरैजसोले उपयुक्त विकल्प नपाउँदा आफ्नै सामानसँगै खुला चौरमा दिनरात बिताइरहेका छन्।
स्थानीयवासी कमल अधिकारीका अनुसार वर्षाले सुकुम्वासीहरूको अवस्था झनै दयनीय बनाएको छ। “बस्ती हटाइएपछि मानिसहरू पहिले नै समस्यामा थिए, अहिले वर्षाले थप दुःख दिएको छ। धेरैका खाद्यान्न र लुगाकपडा सबै भिजेका छन्, कतिपय त खान नपाएरै बसिरहेका छन्,” उनले बताए।
सामान ओसारपसारमा संलग्न मिनीट्रक चालक किशोर तामाङले पनि सबै सामग्री सुरक्षित रूपमा सार्न समय लागिरहेको बताए। उनका अनुसार कतिपय परिवारको सामान अत्यधिक भएकाले तीनदेखि चार ट्रिपसम्म लग्नुपर्ने अवस्था छ। “धेरैले अझै डेरा पाएका छैनन्, त्यसैले सामान यहीँ राखेर कोठा खोज्न गएका छन्। हामीले सकेसम्म सहयोग गरिरहेका छौँ, तर सबैलाई तत्काल व्यवस्थापन गर्न गाह्रो छ,” उनले भने।
अहिलेसम्म पनि भत्काइएको क्षेत्र वरिपरि ठूलो परिमाणमा सामग्री थुप्रिएको देखिन्छ। ती सामग्री कुर्न बसेका महिला, बालबालिका र वृद्धहरू वर्षामा भिज्न बाध्य छन्। उनीहरूका लागि पर्याप्त त्रिपाल, अस्थायी टहरा वा सुरक्षित गोदामको व्यवस्था नहुँदा समस्या झनै जटिल बनेको छ।
विस्थापनको पीडा, आर्थिक अभाव र प्राकृतिक विपत्तिको दोहोरो मार खेपिरहेका सुकुम्वासीहरूले सम्बन्धित निकायसँग तत्काल राहत तथा पुनर्स्थापनाको माग गरेका छन्। उनीहरूले कम्तीमा अस्थायी बसोबास, खाद्यान्न सहयोग र सरसामान सुरक्षित राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।
यसैबीच, स्थानीय तह तथा सरोकारवाला निकायहरूले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। बस्ती व्यवस्थापनसँगै मानवीय पक्षलाई ध्यानमा राख्दै विस्थापित परिवारहरूको उचित पुनर्वास, रोजगारीका अवसर र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने माग स्थानीयस्तरमै उठ्न थालेको छ।
वर्षा अझै जारी रहने सम्भावना रहेकोले तत्काल राहत र व्यवस्थापन नहुँदा सुकुम्वासीहरूको अवस्था थप जटिल बन्न सक्ने देखिन्छ। त्यसैले सम्बन्धित निकायले शीघ्र हस्तक्षेप नगरे स्थिति मानवीय संकटमा रूपान्तरण हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।




























