महिला च्यालेन्ज ट्रफीमा नेपाल अमेरिकासँग पराजित

महिला च्यालेन्ज ट्रफीमा नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप च्यालेन्ज ट्रफी अन्तर्गत जारी महिला च्यालेन्ज ट्रफीमा नेपालले अमेरिकासँग पराजय बेहोरेको छ । आइतबार सम्पन्न खेलमा संयुक्त राज्य अमेरिकाले नेपाललाई ७ विकेटले हराएको हो ।

नेपालले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको अमेरिकाले ११.५ ओभरमै ३ विकेट गुमाएर सहज जित निकालेको थियो । अमेरिकाको ब्याटिङ सशक्त देखिँदा नेपाली बलरहरू प्रभावकारी प्रदर्शन गर्न असफल भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ८६ रन बनाउन सकेको थियो । नेपाली टोलीको ब्याटिङ कमजोर देखिँदा ठूलो स्कोर खडा गर्न सकेन ।

यो हारसँगै नेपालले प्रतियोगितामा तेस्रो पराजय बेहोरेको छ भने अमेरिकासँगको यो दोस्रो हार हो। हालसम्म खेलेका ५ खेलमध्ये अमेरिकाले ४ खेलमा जित हात पारेको छ भने एक खेलमा मात्र हार बेहोरेको छ । यसले प्रतियोगितामा अमेरिकाको स्थिति मजबुत बनेको छ भने नेपालको स्थिति चुनौतीपूर्ण बन्दै गएको छ ।

यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भइरहेको हो भने रुवाण्डा क्रिकेट संघको व्यवस्थापनमा अप्रिल १८ देखि मे २ सम्म सञ्चालन भइरहेको छ। प्रतियोगितामा विभिन्न क्षेत्रका पाँच टोलीहरू सहभागी छन् । अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवाण्डा रहेका छन् ।

प्रतियोगिताको ढाँचा अनुसार सबै टोलीहरूले एकअर्कासँग दुई पटक खेल्नेछन् । अन्तिममा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली नै विजेता बन्ने प्रावधान रहेको छ । त्यसैले प्रत्येक खेल टोलीहरूका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ ।

नेपालले अब बाँकी खेलहरूमा राम्रो प्रदर्शन गर्नुपर्ने दबाबमा रहेको छ। नेपालले आगामी खेल अप्रिल २८ मा आयोजक रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ । यी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार