काठमाडौं । बार्सिलोना स्पेनिस लालिगा फुटबलको उपाधि नजिक पुगेको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफे लाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता ११ अंक पुर्याएको हो ।
यो जितसँगै बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ११ अंकले अगाडि पुगेको छ। दुवै टोलीको अब ५ खेल बाँकी रहँदा बार्सिलोनाले ३३ खेलबाट ८५ अंक जोडेको छ भने रियल मड्रिडको समान खेलबाट ७४ अंक रहेको छ ।
यसअघि शुक्रबार रियल मड्रिड बेटिससँग १–१ को बराबरीमा रोकिएपछि बार्सिलोनासामु अग्रता फराकिलो बनाउने अवसर आएको थियो, जसलाई उसले गेटाफेमाथि जित निकाल्दै पूरा गर्यो ।
गेटाफेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्यो । पहिलो हाफको अन्त्यतिर फर्मिन लोपेजले पेड्रीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा सब्स्टिच्युटका रूपमा मैदान छिरेका मार्कस रासफोर्डले ७४औं मिनेटमा उत्कृष्ट काउन्टर अट्याक गोल गर्दै जित सुनिश्चित गरे । उनी म्यानचेस्टर युनाइटेड बाट लोनमा बार्सिलोनामा आएका खेलाडी हुन् र उनले यस सिजनमा आफ्नो सातौँ गोल पनि पूरा गरेका छन् ।
खेलभरि बार्सिलोनाले बल नियन्त्रणमा पूर्ण दबदबा बनायो। उसले ७६ प्रतिशत पोजेसन राख्दै ५६२ पास पूरा गर्यो, जसमा ९१ प्रतिशत सफलता दर थियो। बार्सिलोनाले १० प्रहार गर्दा ४ वटा टार्गेटमा राखेको थियो ।
गेटाफे भने खेलमा कमजोर देखियो। उसले केवल ३ प्रहार गर्दा १ मात्रै टार्गेटमा राख्न सफल भयो । २४ प्रतिशत मात्र पोजेसन राखेको गेटाफेले १५४ पास पूरा गर्दा ६१ प्रतिशत सफलता दर देखियो ।
बार्सिलोनाका युवा स्टार लामिन यामाल ह्यामस्ट्रिङ चोटका कारण मैदान बाहिर रहे पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्यो ।
यो जितसँगै बार्सिलोना २९औं ला लिगा उपाधितर्फ मजबुत रूपमा अघि बढेको छ । अंक तालिकाको स्पष्ट अन्तर र टोलीको वर्तमान लयलाई हेर्दा बार्सिलोना लगातार दोस्रो पटक च्याम्पियन बन्ने सम्भावना निकै बलियो देखिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार



























