काठमाडौं । निर्वाचन आयोगले चुनावको दिनमा अनुपस्थित हुनेलाई अग्रिम मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नभई हाललाई समानुपातिक निर्वाचन प्रणालीमा यो व्यवस्था गर्ने प्रस्ताव निर्वाचन आयोगले गरेको हो । वडागत रूपमा सम्भव नहुने भएकाले अहिलेलाई समानुपातिकतर्फ मात्रै यो व्यवस्था गर्न खोजेको आयोगले जनाएको छ ।
यो व्यवस्था कानुन बने चुनावको दिन मतदान गर्न असम्भव हुने अवस्थामा समानुपातिक प्रणालीमा अग्रिम मतदान गर्न सक्ने भएको हो ।
त्यसका लागि आयोगले तोकेको दिन र मतदान केन्द्रमा उपस्थित भएर मतदान गर्न सक्ने व्यवस्था विधेयकको मस्यौदामा छ । आयोगले यसमा भाग लिन छुट्टै अस्थायी मतदाता नामावली तयार गर्ने प्रस्ताव समेत गरेको छ ।
सरकारी कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी, थुनुवा वा कैदी र आयोगले तोकेका अन्य व्यक्तिलाई अस्थायी मतदाता नामावली दिन सक्ने भनिएको छ । उनीहरूले चुनाव अगावै मतदान गर्न सक्नेछन् । उक्त नामावली निर्वाचन सकेसँगै स्वतः रद्द हुने आयोगले जनाएको छ ।
मतदानको दिन निर्वाचन पर्यवेक्षण गर्न जाने निर्वाचन पर्यवेक्षक र मतदान हुने दिन वा त्यसअघि मतदान हुने दिनसम्म विदेश भ्रमण गर्ने मतदाताले पनि अग्रिम मतदान गर्न पाउने भनिएको छ ।
त्यसै गरी व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचारका कारण आफ्नो मतदाता नामावली रहेको वडामा उपस्थित हुन नसक्ने मतदाताले पनि समानुपातिक प्रणालीमा अग्रिम मतदान गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको हो । हाल कार्यान्वयनमा रहेका कानुनहरूमा यो व्यवस्था छैन ।
आयोगको सोमबार बसेको बैठकले निर्वाचन व्यवस्थापन विधेयक मस्यौदालाई गृह मन्त्रालयमार्फत कानुन बनाउन प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको थियो ।