काठमाडौं । कर्मचारी र कानुन व्यवसायीबीच तनाव बढ्दै जाँदा विभिन्न ट्रेड युनियनले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिमा आफ्नो सम्मानजनक प्रतिनिधित्वको माग गरेका छन् ।
महान्यायाधिवक्ता कार्यालयमा कार्यरत क्रियाशील संघसंगठनले न्यायाधीश नियुक्तिका सन्दर्भमा प्रेस विज्ञप्ति निकालेर आफ्ना माग बेवास्ता गरिए सङ्घर्षमा उत्रने चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘रिक्त रहेका सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश पदमा नियुक्त गर्दा न्याय सेवाअन्तर्गतका न्याय, कानुन र सरकारी वकिल गरी तिन वटै समूह, कानुन व्यवसायी, उच्च र जिल्ला न्यायाधीशलगायतका सबै पक्षहरूको सम्मानजनक प्रतिनिधित्वको माग गर्दछौँ ।’
उनीहरूले आफूहरूलाई पाखा लगाउने तथा हतोत्साहित गराउने गरी न्यायाधीश नियुक्ति नगर्न भनेका छन् ।
सर्वोच्च अदालतमा सीधै नियुक्ति हुने व्यवस्था हटाउन र बढीमा उच्च अदालतलाई मात्र प्रवेशद्वार बनाउन ती सङ्गठनको माग छ ।
उच्च अदालतमा प्रतिस्पर्धा र संसदीय सुनुवाइविनै न्यायाधीश नियुक्त हुने गरेको र सर्वोच्च अदालतमा राजनीतिक आबद्धता र नातागोताको आधारमा सीधै नियुक्त हुने गरेको भन्दै त्यही कारण न्यायालयमा विचलन आएको विज्ञप्तिमा उल्लेख छ ।
उच्च र सर्वोच्चको न्यायाधीश नियुक्तिमा कर्मचारीको हकमा राजपत्राङ्कित प्रथम श्रेणीको हुनुपर्ने व्यवस्था त्रुटिपूर्ण र विभेदपूर्ण रहेको भन्दै त्यसलाई हटाउन पनि माग गरिएको छ ।