म अभिभावक बनिसकेको मान्छे होइन । तर पनि बालबालिकासँग नजिक छु । उनीहरूसँग खेलेको छु, कुरा गरेको छु । उनीहरूको कुरा सुनेको छु । उनीहरूलाई अध्ययन गर्न, साथीसँग खेल्नभन्दा पनि मोबाइल चलाउन मन पर्छ । मोबाइल पाए, भोकैसमेत बस्न सक्नेसम्मका भएका छन् अचेलका बालबालिका ।
मैले आफन्तको घर, छिमेकीको घर पुग्दा वा सवारी-साधनमा यात्रा गर्दा पनि यो कुरा ख्याल गर्ने गरेकी छु । बालबालिका के गरिरहेका छन् ? के भन्छन् ? यस्ता कुरामा मेरो ध्यान जाने गर्छ । सवारी-साधनमा बालबालिकाले यात्रा गर्दा जङ फुड खान मन पराउने कुरा त कुनै नौलो कुरा रहेन । बालबालिकादेखि अभिभावकसम्म जङ फुडको मोह छ ।
बसको सिसाबाट बाहिरी वातावरण हेरेर कुरा गर्ने बालबालिका कमै छन् । केही बालबालिकाले बाहिरको वातावरणसँग रमाएर कुरा गर्ने, जिज्ञाशा राख्ने गरे पनि अभिभावकलाई त्यो बच्चाको बोलीले वाक्क बनाउँछ । 'नबोल है, कति बोलेको, थाहा छैन मलाई, लाऊ यो मोबाइलमा गेम खेल बरु', यसै भनेर अभिभावक मस्त निदाउन चाहन्छन् ।
जता गए पनि बालबालिका मोबाइलमा तल्लिन देखिन्छन् । एक्लै मोबाइल चलाइरहेको देख्छौँ । केही साथीहरूसँग मिलेर मोबाइलमा गेम खेल्ने गरेको देखिन्छ । मोबाइलमा नयाँनयाँ एपहरू पनि उनीहरूले डाउनलोड गर्छन् । नयाँनयाँ खेलहरू पनि उनीहरू डाउनलोड गर्छन् ।
हुर्कँदै गर्दा रुन थाल्यो भने मोबाइल देखाएर फकाउँछौँ । घर बाहिर काम गर्नुपर्ने भएमा वा घरभित्रै केही काम परेमा बच्चालाई मोबाइल दिने गर्छौँ । मोबाइल हेर्दै बालबालिका रमाउँछन् । अभिभावक काम फत्ते गर्छन् । सानैदेखि मोइबाल हेर्दै आएका बालबालिका उमेर बढ्दै जाँदा मोबाइलविना खानासमेत नखानेसम्म भएको हामीले प्रत्यक्ष देखिसकेका छौँ ।
बालबालिका घर आएलगत्तै बाउआमाले मोबाइल कता राख्यो भन्दै खोज्न थाल्छन् । मोबाइल पाएपछि उनीहरू खाजा खानसमेत भुल्छन् । केके हेर्छन्, हेर्छन् अनि केही समयमा बल्ल भोक लाग्यो भन्न थाल्छन् । अभिभावकले केही खाजा बनाएर दिएपछि उनीहरू खान्छन् । अझ कोही कोही त खाजा खाँदासमेत मोबाइल चाहियो भन्न थाल्छन् ।
बालबालिकाहरू साथीसँगग खेल्न जाँदा पनि 'मोबाइल लिएर आऊ है। मेरो पनि मोबाइल छ। मोबाइलमा ... खेल्ने' भन्न थाल्छन् । त्यतिबेला अभिभावक आफ्नै काममा व्यस्त हुन्छन्, केही त मोबाइल हेर्दै बसिरहेका हुन्छन् । बालबालिकालाई लाग्दो हो- बुवाआमाले त मोबाइल हेरिरहेका छन्, मैले किन हेर्न नपाउने भनेर । सानैदेखि बालबालिका अभिभावकलाई नटेर्ने भएको पाएका छौँ । अझ उनीहरू उल्टै मुख लागिरहेका हुन्छन् ।
हामीले खाना खाने समयमा पनि मोबाइल हेर्दै खाने बालबालिका आँखाअगाडि नै देखेका छौँ । उनीहरू मोबालइमा यति झुम्मिएका हुन्छन् कि थालमा खाना सकिएको समेत होस हुँदैन । बेलुका भइसकेपछि पनि बालबालिका मोबाइल नै हेर्न चाहन्छन् । अभिभावक पनि मोबाइलमा मस्त हुन्छन्, बच्चाले पनि हेर्न चाहन्छन् । पाए अभिभावककै मोबाइलमा हेर्छन् नभए अर्को छुट्टै मोबाइलमा ।
आफ्ना बच्चाका लागि भनेर कति अभिभावकले त आफूले चलाउनेबाहेक मोबाइल, ट्याबको पनि व्यवस्था गरेका छन् । आफू आफ्नै संसारमा व्यस्त अनि बच्चा आफ्नै संसारमा ।
अभिभावकले सुत नभनेसम्म बच्चाहरू मोबाइलमा झुण्डिन्छन् । कर गरेपछि बल्लतल्ल सुत्छन् । कति त अभिभावक सुतेको मौका पारेर भएपनि अबेररातिसम्म मोबाइल चलाइरहेका हुन्छन् । अभिभावकको मोबाइलको पासवर्ड अधिकांश बालबालिकालाई थाहा नै हुन्छ ।
हुन त मोबाइलबाट राम्रा कुरा पनि सिकेका छन् । नराम्रा पनि । तर मोबाइलप्रतिको लत भने हटाउन चुनौती छ । राम्रो सिके त राम्रै होला । नराम्रा सिके के होला ? यो लतलाई कसरी कम गर्ने ? अभिभावकको लागि यो चिन्ताको विषय बनेको छ ।
मोबालइमा डुबेको बेलामा आफन्तीको फोन काटिदिने, नउठाउने गरेकाे पनि पाइएकाे छ । यतिमात्र हाेइन, बालबालिका एकोहाेराे स्वभावका भएका छन् । आफू-आफूमा रमाउने भएका छन् । यस्तो लाग्छ कि उनीहरूका लागि माेबाइल नै संसार हो, यो संसारभन्दा बाहिर अर्को संसार छैन ।
अभिभावक चिन्ता गर्दै भन्छन्- 'भनेकै मान्दैन, कति कराउनु, कति पिट्नु, मोबाइल दिएपछि चुप लाग्छन्, हल्ला गर्दैनन् । हामीलाई अरू काम गर्न पनि सजिलो । मोबाइल नदिए खाना पनि खाँदैन, पढ्न पनि मान्दैन । एकछिन मोबाइल हेर्छु अनि पढ्छु भन्छन् ।'
मलाई लाग्छ- अधिकांश अभिभावकको प्रश्न यो हुन सक्छ- कसरी हटाउने यो लत ? मोबाइल हेरेर हैरान पारेको छ । मोबाइल नदिए रोएरै बस्छन् । नदिए पनि गाह्रो, दिए पनि गाह्रो !
सामाजिक सञ्जालमा अभिभावकका लागि लक्षित विभिन्न सामग्रीहरू आइरहेको हुन्छ । असल अभिभावक कसरी बन्ने भनेर पनि टिप्सहरू आउँछ । यसमा हामी कत्तिको सचेत छौँ ? बालबालिकाप्रति कति चासो दिएका छौँ ? हामीले के गरिरहेका छौँ ? एकपटक सोच्ने हो कि ? बेलैमा ख्याल नगरे यसले विकराल समस्या निम्त्याउने देखिन्छ ।