काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब जानका लागि नेपाली श्रमिकले अनिवार्य रूपमा एसएलसी पास गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ।
नेपालस्थित साउदी दूतावासले यस्तो नियम ल्याएको हो। दूतावासका अनुसार १२ जुनदेखि भिसा जारी गर्न अनिवार्य रूपमा एसएलसी पास गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नेपर्नेछ।
यता व्यवसायीहरूले भने सो नियमको विरोध गरेका छन्। उनीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई उक्त नियम राेक्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
दूतावासको यस्तो निर्णयले दुःख दिने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
अध्यक्ष भण्डारीका अनुसार शैक्षिक योग्यताको प्रमाणपत्र माग गरी सो प्रमाणपत्र परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गरी पुनः साउदी दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने अनिवार्य अव्यावहारिक र प्रचलन कानुनविपरीत रहेको छ ।
उनले दूतावासको उक्त कदम रोक्न कूटनैतिक पहल गर्न मन्त्रीलाई अनुरोधसमेत गरेका छन् ।





























