काठमाडौं । राष्ट्रियसभाका सांसद मायाप्रसाद शर्माले लामो समयदेखि आन्दोलित शिक्षकको समस्या समाधान गर्न सरकारसमक्ष माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले सरकारले आन्दोलनरत शिक्षकको समस्या समाधानभन्दा पनि उनीहरुलाई विभिन्न आरोप लगाएर निरुत्साही गर्ने काम गरेको आरोप लगाए । संसदीय समितिमा छलफलमा रहेको शिक्षा विधेयकलाई जतिसक्दो छिटो पारित गरेर देशैभरिको शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
“देशमा १८ घण्टासम्म लोडसेडिङ थियो, त्यो शून्यमा झरेको छ, लोडसेडिङको अन्त्य भारतका कारणले भएको हो भनेर मन्त्रीले हिजो प्रतिनिधिसभमा अभिव्यक्ति दिनुभएको छ, कुरा त्यसो होइन, लोडसेडिङ अन्त्यको जस कुलमान घिसिङलाई दिनुपर्छ”, उनले भने ।
सांसद शारदा देवी भट्टले अमेरिकाले नेपालीहरुलाई अपमानित तरिकाले नेपाल पठाउनु मानव अधिकारविपरीत भएको बताइन् । उनले भनिन्, “अमेरिकाले मानव अधिकारविरुद्ध डिपोर्ट गर्ने काम गरेको छ, नेपाल पठाउनु ठीक छ, तर पठाउने शैली ठीक छैन, यो बारेमा सरकारले कूटनीतिक तरिकाले अमेरिकी सरकारसँग कुरा गर्नुपर्छ ।”
सांसद सुमित्रा विसीले हवाई क्षेत्रमा लापरवाही देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । “हिजो फागुन २२ गते बुद्ध एयरको जहाजले एउटा पाङ्ग्रा जनकपुरमै छोडेर ६३ जना यात्रु बोकेर आएको थियो, भाग्यले जहाजले सुरक्षित अवतरण गरेको थियो, तर यो हवाई क्षेत्रको गम्भीर त्रुटी हो, यसमा सम्बन्धित निकाय सचेत हुनुपर्छ”, उनले भनिन् । उनले गत साउनमा सौर्य एयरको विमान दुर्घटनामा परेका व्यक्तिको परिवारलाई न्याय दिने र सम्बन्धित निकायलाई कारबाही गर्ने विषयमा सरकारसँग जवाफ माग गरिन् ।