भित्ते पत्रिका हुँदै सुरु भएको नेपाली पत्रकारिताले अहिले ठूलो फड्को मारिसकेको छ । प्रविधिको विकासले विश्व नै एउटा गाउँको रूपमा विकास भइसकेको अवस्थामा पत्रकारितामा पनि विभिन्न आयामहरू थपिँदै गएका छन् ।
त्यसैक्रममा पछिल्लो समय नेपालको पत्रकारिता पनि डिजिटल माध्यमबाट गरिने अनलाइन पत्रकारिताको प्रभाव बढी छ । केही समययता पत्रकारिता भनेको अनलाइन हो भन्ने एकखालको बुझाइको विकास हुँदै गएको छ भने पत्रकारिताका विभिन्न माध्यमहरू छापा तथा ब्रोडकास्ट माध्यमहरू पनि कुनै न कुनै रूपमा अनलाइन माध्यममा जोडिनैपर्ने बाध्यता बनेको छ ।
अनलाइन पत्रकारिताको विकासले सञ्चार उद्योगको संख्या पनि ह्वात्तै वृद्धि भएकाे छ । जसका कारण श्रमजीवी पत्रकारहरूले काम पाउने ठूलो उद्योगका रूपमा अनलाइन पत्रकारिता बनेको छ । सँगसँगै यसको संख्या अत्यधिक हुँदा सत्य, तथ्य तथा निष्पक्ष रहनुपर्ने पत्रकारिताको मूल मर्म तथा धर्म नै धर्मराएको छ ।
पत्रकार आचारसंहिताको नियमन गर्ने महत्त्वपूर्ण निकाय प्रेस काउन्सिल नेपालले यसको बारेमा आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू त गर्दै आएको छ । यद्यपि अनलाइन सञ्चारमाध्यमको संख्या नै अधिक हुँदा यसले पेशागत विकृतिदेखि आर्थिक संकटसमेत उत्पन्न गरेको छ । जसका कारण प्रत्यक्ष रूपमा श्रमजीवी पत्रकारहरू नै मारमा पर्दै आएका छन् ।
पछिल्लो समय विश्वमै देखिएको कोरोना भाइरस संक्रमणले हाम्रो मुलुक पनि अछुतो रहन सकेन । केही वर्ष कोरोना भाइरसको संकटसँग लड्नुपर्दा नेपाली मिडिया उद्योग र त्यहाँ काम गर्ने पत्रकारहरूले समेत त्यसको पीडा भोग्दै आइरहेका छन् । अहिले पनि संकट टरिसकेको छैन । यसका बाबजुद हामीले अनलाइन पत्रकारितामा एउटा जमर्को गरेका छौँ ।
प्रतिबद्धता मिडिया प्रालिद्वारा हामीले व्यवस्था डटकम नामक अनलाइन पत्रिका आजदेखि तपाईंहरूको माझमा लिएर आएका छौँ । मुलुकको समसामयिक विषयसँगै विशेषतः हामी प्रशासनिक क्षेत्रका विषयसँग बढी जोडिने कोसिस गर्नेछौँ । त्यसभित्रका राम्रा/नराम्रा कुराहरूलाई तपाईं पाठकहरूमाझ हामीले जस्ताको तस्तै लिएर आउने कोसिस हाम्रो सदैव रहनेछ।
पत्रकारिताको मूल मर्म र धर्मलाई हामीले हाम्रो तर्फबाट कहिल्यै मर्न दिने छैनौँ । प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिताको पूर्ण रूपमा पालना गर्दै नेपाली अनलाइन पत्रकारिताको क्षेत्रमा हामीले व्यवस्था डटकममार्फत् तपाईंहरूको सू-सूचित हुन पाउने अधिकारको सदैव रक्षा गर्नेछौँ ।
यो हाम्रो नयाँ प्रयास हो । यसक्रममा हामीले सत्य, तथ्य र निष्पक्ष भन्ने कुरालाई सदैव शिरमा सजाएर पत्रकारिताको धर्म निर्वाह गर्नेछौँ । यहाँ पाठकहरूको सल्लाह, सुझाव र हौसला हामीलाई काम गर्नका निम्ति महत्त्वपूर्ण हुनेछ । बाँकी यहाँहरूकै सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै आजदेखि हामीले व्यवस्था डटकम यहाँहरू माझ सुम्पिएका छौँ ।
धन्यवाद !