काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पनि निधन भएकाे छ ।
मन्त्री सिंहको उपचारका क्रममा काेहलपुर मेडिकल कलेज, बाँकेमा निधन भएकाे हाे ।
दुर्घटनामा परी मन्त्रीकी श्रीमती ५० वर्षीया अमृता सिंह र भाउजू नाता पर्ने ६० वर्षीया जयादेवी सिंहकाे मृत्यु भइसकेकाे छ । उनीहरू दुवै जनाकाे उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो ।
जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीकाे अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियाे ।


























