काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।
सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएका हुन् ।
मन्त्रालयले हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भइनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्नेगरी स्थानीय तहहरूलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न भनेकाे हाे ।
‘नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भइनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक स्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता र अन्य सुविधाहरूको व्यवस्थापन पालिकाबाटै हाेस्', परिपत्रमा उल्लेख छ ।
स्वास्थ्यको ७ बुँदे परिपत्रमा कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका कतिपय कर्मचारीले समायोजन पत्र बुझी समायोजन भएको निकायमा हाजिर भएकाले यथाशीघ्र रमाना लिएर हााजिर हुने व्यवस्था गर्न पनि परिपत्रमा निर्देशन दिइएको छ ।
यसअघि स्वास्थ्यले पालिकाको सहमतिका आधारमा स्वास्थ्यकर्मीहरूलाई एक पालिकाबाट अर्को पालिकामा कामकाजका लागि खटाउँदै आएको थियो । तर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षबाट दरबन्दीबाहेकका कर्मचारी तलब, भत्ता दिन नसकिने बताएको उल्लेख गर्दै यस्ता व्यवस्थापन पालिकाहरू आफैंले गर्नुपर्ने मन्त्रालयले जनाएकाे छ ।






























