काठमाडौं । नेपाल सरकारका सबै वेबसाइटहरू ‘डाउन’ भएका छन् । मंगलबार साँझदेखि सरकारका सबै वेबसाइटहरू ‘डाउन’ भएका हुन् ।
'डट जीओभी डट एनपी' डोमेनमा रहेका सरकारी वेबसाइट 'डाउन' भएपछि वेबसाइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा प्रभावित भएका छन् ।
सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधिक केन्द्र (डाटा सेन्टर)को सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयका वेबसाइट डाउन भएका हुन् ।
सिंहदबारमा रहेको प्राधिकरणको सवस्टेनसनमा लगातार दुई पटकसम्म विस्फोट भएको आवाज सुनिएको थियो । अपराह्न १२:३० बजे डाटा डेडिकेटेट लाइनको ट्रान्सफर विस्फोट भएको थियो ।
ट्रान्सफर्मर विस्फोट भएपछि डाटा सेन्टरका कर्मचारीले प्राधिकरणलाई खबर गरेका थिए । त्यसपछि प्राधिकरणका कर्मचारीहरु मर्मतका लागि घटनास्थलमा पुगेका थिए। ५० देखि ६० जना प्राधिकरणका कर्मचारी यसको मर्मतसंभारमा खटिएपनि यसको मर्मत हुन नसकेकाले सेन्टरको काम प्रभावित हुन पुगेको हो ।
मर्मतका लागि आवश्यक पर्ने उपकरण नपाइएको प्राधिकरणका कर्मचारीले बताएका छन् । बिहानदेखि नै विद्युत उत्तारचढाव भएपछि सेन्टरले प्राधिकरणलाई खबर गरेको थियो । तर, प्राधिकरणले यसलाई गम्भिरतापूर्वक नलिएपछि डाटा सेन्टरले हाई भोल्टेजको जनेटर मार्फत विद्यूत आपुर्ति गरेर प्रणाली सुचारु गरेको थियो ।
विद्युत अवरुद्ध भएको १२ घण्टा पुग्न लाग्दा समेत मर्मत नभएको र डाटा सेन्टरको जनेटरले समेत भार थेग्न नसकेपछि सेन्टरले आफ्नो सेवा अवरुद्ध गरेको छ । सिंहदरबारजस्तो संवेदनशील स्थानमा रहेको सवस्टेसन विस्फोट हुनुले प्राधिकरणले प्रयोग गर्ने उपकरणको गुणस्तरमा प्रश्नचिन्ह खडा सिंहदरबारमा कार्यरत एक कर्मचारीले बताए ।
सेन्टरले १४ सय सरकारी कार्यालयका वेबसाइट होस्ट गर्नुका साथै ३ हजारभन्दा बढी सरकारी कार्यालयका डोमेन सेन्टरले दर्ता गरेको छ ।
त्यसो त पटक पटक सरकारी वेबसाइटहरू डाउन हुने समस्या उत्पन्न हुँदै आएको छ । सरकारले यसको स्थायी समाधान खोज्न सकेको छैन ।