काठमाडौं । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्ने ७ जनाविरुद्धको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सांसद, प्राध्यापक, विद्यार्थी र नागरिक आन्दोलनका अभियन्ताहरूले दबाब दिएका छन् ।
विश्वविद्यालयलाई हिंसारहित बनाउन र पीडित चलाउनेलाई न्याय दिलाउन नागरिक आन्दोलनका अभियन्ता, प्रगतिशील प्राध्यापक सङ्गठन आन्दोलनमा उत्रिएका हुन् । सोमबारदेखि कीर्तिपुरस्थित उपकुलपति कार्यालय परिसरमा उपप्राध्यापक चलाउने अनशनसमेत बसेका छन् ।
प्राध्यापकहरूको साझा सङ्गठन नेपाल प्राध्यापक सङ्घ र विभिन्न विद्यार्थी सङ्गठन, स्वतन्त्र विद्यार्थी युनियनले सरकारसँग मुद्दा फिर्ताको निर्णय रद्द गर्न माग गरेका छन् ।
के भएको थियो उपप्राध्यापक चलाउनेमाथि ?
२०७७ असोज २० गते उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय हाताभित्रै आक्रमण भएको थियो । नेविसंघका कार्यकर्ता हरि आचार्य र योगेन्द्र रावललगायतले आक्रमण गरेको आरोप लागेको छ । उक्त आक्रमणमा दीपकराज ओझा, रूपेश साह, रवीनकुमार लामा, सयुज श्रेष्ठ र नीरज राना मगर पनि सहभागी थिए ।
आचार्य र रावलले आक्रमणको योजना बनाएको र त्यसको कार्यान्वयन गर्न अन्य पाँच जना आरोपी संलग्न रहेको प्रहरी अनुसन्धानमा भेटिएको थियो । जिल्ला अदालतको आदेशमा आरोपीहरू धरौटीमा छुटे । तर सामान्य धरौटीमा छाडेको भन्दै चलाउनेले उच्च अदालतमा पुनरावेदन दिए । उच्चले पाँच लाख धरौटीमा छाड्न र पीडितलाई एक लाखका दरले राहत दिन आदेश गर्यो । तर, मुद्दाको अन्तिम पेसी तोकिसकेको अवस्थामा मन्त्रिपरिषद्बाट मुद्दा फिर्ता लिने निर्णय भएको थियो ।