पर्सा, बारा र रौतहटमा आइतबारदेखि नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गरिँदै

पर्सा, बारा र रौतहटमा आइतबारदेखि नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गरिँदै

काठमाडौं । पर्सा, बारा र रौतहटमा नयाँ नागरिकता ऐनअनुसार आइतबारदेखि नागरिकता वितरण गरिने भएको छ ।

सर्वोच्च अदालतले बिहीबार नागरिकतासम्बन्धी मुद्दामा अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएसँगै अब जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बाटो खुलेको हो । 

पर्सामा शुक्रबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर नयाँ नागरिकता ऐनअनुसार नागरिकता बनाउँदा चाहिने कागजातबारे जानकारी दिएको छ ।

पर्सामा आजदेखि नै फर्म संकलन गर्ने कार्य सुरु भएको र आइतबार नागरिकता वितरण गरिने कार्यालयले जनाएकाे छ ।

यसैगरी, बारा र रौतहटमा पनि नागरिकता वितरण गरिने बताइएकाे छ ।

नागरिकता प्राप्त गर्नका लागि निवेदकले वडाध्यक्षको सिफारिससहितको अनुसूची १ को फारम, बाआमाको सक्कल नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रलगायत कागजात चाहिन्छ ।