काठमाडौं । स्वास्थ तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताएका छन् ।
सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिकाकाे १३ औँ नगरसभाकाे उद्घाटन समाराेलाई सम्बाेधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने बजेट सबैकाे समन्वयमा कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
मन्त्री बस्नेतले सबै जनप्रतिनिधि जनताकाे सच्चा प्रतिनिधि हुनुपर्ने बताउँदै बजेट निर्माण र यसकाे कार्यान्वयनमा सजग हुनुपर्नेमा जाेड दिए ।
'हामी जनताका सेवक भएकाले भ्रष्टाचार मुक्त समाज बनाउन सबै लाग्नु पर्छ । यसका लागि आफू सजग छु र अरूलाई समेत सजग हुन आग्रह गर्दछु', उनले भने ।
संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ र शिक्षाजस्ता क्षेत्र सबै नागरिकमा सर्वसुलभ बनाउन आफू लागि परेकाे बताउँदै मन्त्री बस्नेतले सबै नागरिकमा आधारभूत सेवाकाे प्रत्याभूति हुनेगरी काम गर्ने दावी गरे।
कार्यक्रममा बाेल्दै उनले विकास निर्माण र जनसेवामा राजनिती सकारात्मक हुनुपर्ने र निर्वाचनमा पार्टी फरक भएर लागे पनि विकासमा एकै भएर काम गर्नुपर्नेमा उनले जाेड दिए ।
बाह्रबिसे नगरपालिकाले नगरसभामा आगामी आर्थिक वर्षका लागि रु ६० कराेड २२ लाख एक सय ७९ बराबरकाे बजेट प्रस्तुत गरेकाे छ ।



























