राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । उनि नेपाली कांग्रेसको समानुपातिक सांसद हुन् ।

समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो ।

बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए । समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनियताको शपथ लिनेछिन् । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

यसअघि उनि तत्कालीन संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छिन् । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनिसँग छ । कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।