वीरगन्ज । वीरगन्ज र आसपासका सीमावर्ती बस्तीहरूमा बिहानदेखि भारततर्फ किनमेल गर्न जानेहरूको चहलपहल पहिलेभन्दा फरक देखिन थालेको छ।
वर्षौंदेखि सामान्य बनेको सीमापारिको सानो किनमेल अहिले भन्सार कडाइका कारण चुनौतीपूर्ण बनेपछि मधेशका गृहिणीहरू दैनिक जीवन व्यवस्थापनमै दबाब महसुस गरिरहेका छन्।
भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू भएपछि घरखर्च चलाउने महिलाहरू सबैभन्दा बढी प्रभावित बनेका छन्। सीमामा सुरक्षाकर्मीहरूले माइकिङमार्फत नियम सम्झाइरहेका छन् भने उपभोक्ताहरू अनिश्चिततामा परेका छन्।
पहिले सानो किनमेलका लागि सहजै सीमापारि जाने अभ्यास अहिले खर्चिलो र झन्झटिलो बनेको स्थानीयहरू बताउँछन्। पर्साकी सोनाली कर्ण भन्छिन्, “यहाँ र त्यहाँको मूल्यमा धेरै फरक छ। पहिले जस्तो सहज छैन, अब भन्सार थपिँदा झन् गाह्रो भएको छ।” त्यस्तै, सुनिता देवीको भनाइमा आम्दानी नबढे पनि खर्च भने लगातार बढिरहेको छ। उनी भन्छिन्, “१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार लागेपछि घरखर्च कसरी धान्ने? सबै कुरा महँगिँदै गएको छ।”
सीमापारि माइती भएका महिलाहरूका लागि यो नियम अझ संवेदनशील बनेको छ। रामगढवाकी ममता देवी भन्छिन्, “माइतीबाट ल्याइने सानो उपहार वा साडीमा पनि भन्सार तिर्नुपर्ने भयो भने संस्कारमै असर पर्न सक्छ।” स्थानीय युवाहरू पनि मूल्य असन्तुलन र बजारको अवस्थाप्रति प्रश्न उठाइरहेका छन्। वीरगन्जका मुकेश महतो भन्छन्, “आन्तरिक बजार प्रवर्द्धन राम्रो कुरा हो, तर बजारमा मूल्य नियन्त्रण नभएसम्म जनतालाई मात्रै असर पर्छ।”
व्यवसायीहरू भने यस कदमलाई सकारात्मक रूपमा हेर्छन्। उनीहरूका अनुसार यसले दीर्घकालमा देशको अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत गर्नेछ। बारा पर्सौनीका व्यापारी सुमन पौडेल भन्छन्, “सुरुमा केही असहजता हुन्छ, तर यो राम्रो नीति हो।” सरकारले भने यो नयाँ व्यवस्था नभई पुरानै कानुनको कडाइका साथ कार्यान्वयन गरिएको स्पष्ट पारेको छ। भन्सार विभागका अनुसार १०० रुपैयाँसम्मका व्यक्तिगत सामानमा मात्र छुट दिने प्रावधान पहिले देखिकै हो।
तर व्यवहारमा यो नीतिले सीमावर्ती जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको छ। आन्तरिक बजार प्रवर्द्धन र नागरिकको दैनिक सहजता बीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्न भने अझै पनि खुला नै छ। मधेशका गृहिणीहरू अहिले यही प्रश्नसँग जुधिरहेका छन्—दैनिक घरखर्च चलाउने सहज बाटो अब कहाँ?




























