अनुसन्धान वैज्ञानिक नतालिया कोस्मिना जब इन्टर्नहरूको खोजीमा थिइन्, उनले आफूले प्राप्त गरेका ‘कभर लेटर’हरू शंकास्पद रूपमा एकैनासको भएको पाइन् ।
ती पत्रहरू लामा र परिष्कृत थिए, जसमा परिचयपछि प्रायः उनको कामसँग एक अमूर्त र स्वेच्छाचारी सम्बन्ध जोडिएको हुन्थ्यो । उनलाई यो कुरा स्पष्ट भयो कि आवेदकहरूले ती पत्रहरू लेख्न च्याट जीपीटी, गूगल जेमिनाई र क्लाउड जस्ता च्याटबोटहरूलाई शक्ति दिने ‘लार्ज ल्याङ्गवेज मोडेल’ (एआईको एक रूप) प्रयोग गरिरहेका थिए ।
त्यसै समयमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) को क्याम्पसमा पाठ पढाउने क्रममा मानिस र कम्प्युटरबिचको अन्तरक्रिया अध्ययन गर्ने कोस्मिनाले के याद गरिन् भने धेरै विद्यार्थीहरूले केही वर्षअघिको तुलनामा विषयवस्तुहरू सजिलै बिर्सिरहेका थिए । एलएलएममा बढ्दो निर्भरतासँगै यसले आफ्ना विद्यार्थीहरूको संज्ञानमा असर गरिरहेको हुनसक्ने उनलाई लागेपछि उनले यसबारे थप बुझ्ने प्रयास गरिन् ।
कोस्मिना जस्ता अनुसन्धानकर्ताहरूको चिन्ता के छ भने यदि हामी एआईमा धेरै निर्भर भयौँ भने यसले हामीले प्रयोग गर्ने भाषा र हाम्रा आधारभूत संज्ञानात्मक कार्यहरू गर्ने क्षमतालाई समेत असर गर्न सक्छ । अहिले भइरहेका धेरै अनुसन्धानहरूले एआईलाई सुम्पिने संज्ञानात्मक कार्यभारले हाम्रो मानसिक क्षमतामा क्षयकारी प्रभाव पार्न सक्ने संकेत गरेका छन् । यसको परिणाम भयावह हुन सक्छ र यसले संज्ञानात्मक गिरावटमा समेत योगदान पुर्याउन सक्छ ।
हामीले प्रयोग गर्ने उपकरणहरूले हाम्रो सोच्ने तरिका बदल्न सक्छन् भन्ने कुरा सर्वविदितै छ । उदाहरणका लागि इन्टरनेटको आगमनसँगै कुनै समय गहिरो अनुसन्धान चाहिने कार्यहरू अहिले सर्च बक्समा एउटा सामान्य प्रश्न राखेर फेला पार्न सकिन्छ । सर्च इन्जिनको प्रयोग बढेसँगै अनुसन्धानले के पायो भने हामी विवरणहरू सम्झिने सम्भावना कम हुँदै गयो, जसलाई ‘गूगल इफेक्ट’ नाम दिइयो । (यद्यपि कोही–कोही भने इन्टरनेटले बाह्य स्मृति प्रणालीको रूपमा काम गर्ने र यसले मस्तिष्कलाई अन्य कार्यहरू गर्न स्वतन्त्र बनाउने तर्क गर्छन् ।)
तर अहिले चिन्ता बढ्दै गएको छ कि जब हामी हाम्रो सोचाइको अझ ठूलो हिस्सा एलएलएम र एआईका अन्य रूपहरूलाई सुम्पिन्छौँ, तब हाम्रो स्मृति र समस्या समाधान गर्ने क्षमतामा अझ खराब असर पर्न सक्छ । कृत्रिम बुद्धिमत्ताका उपकरणहरूले विश्वासिलो कविता लेख्न, वित्तीय सल्लाह दिन र साथीको रूपमा साथ दिन सक्छन् । विद्यार्थीहरूले पनि आफ्नो काम एआई उपकरणहरूलाई सुम्पिने क्रम बढ्दो छ ।
अध्ययनहरूले देखाइसकेका छन् कि युवाहरू विशेषगरी एआईको प्रयोगले ‘आलोचनात्मक सोच’ जस्ता मुख्य संज्ञानात्मक सीपहरूमा पार्न सक्ने नकारात्मक प्रभावप्रति बढी संवेदनशील हुन सक्छन् । कोस्मिना यसको सम्भावित प्रभावहरूबारे अझ गहिराइमा पुग्न चाहन्थिन् ।
मानसिक प्रयासमा कमी
उनले र एमआईटी मिडिया ल्याबका उनका सहकर्मीहरूले ५४ जना विद्यार्थीहरूलाई छोटो निबन्ध लेख्न लगाए र उनीहरूलाई ३ समूहमा विभाजन गरे । एउटा समूहलाई च्याटजीपीटी प्रयोग गर्न भनियो । दोस्रोले एआई–जनरेटेड सारांशहरू बन्द गरिएको गूगल सर्च प्रयोग गर्न सक्थ्यो । तेस्रो समूहले कुनै प्रविधि प्रयोग गरेन । उनीहरूले काम गरिरहँदा प्रत्येक विद्यार्थीको मस्तिष्कको तरङ्ग मापन गरिएको थियो।
निबन्धका विषयहरू जानाजानी खुला प्रकृतिका छानिएका थिए, जसमा कम अनुसन्धान आवश्यक पर्थ्यो । जस्तैः बफादारी, खुसी वा हाम्रा दैनिक जीवनका छनोटहरू सम्बन्धी प्रश्नहरू । यी नतिजाहरू अहिलेसम्म कुनै वैज्ञानिक जर्नलमा प्रकाशित नभए पनि कोस्मिनाका अनुसार ती आँखा खोलिदिने खालका थिए । आफ्नै दिमाग प्रयोग गर्नेहरूको मस्तिष्कमा व्यापक सक्रियता देखिएको उनी बताउँछिन् । सर्च इन्जिन मात्र प्रयोग गर्ने समूहमा पनि मस्तिष्कको दृश्य भागहरूमा बलियो सक्रियता देखियो तर च्याटजीपीटी प्रयोग गर्ने समूहले मस्तिष्कको सक्रियतामा उल्लेखनीय कमी देखायो, जुन ५५% सम्म घटेको थियो ।
‘मस्तिष्क निदाएको त थिएन तर रचनात्मकता र सूचना प्रशोधनसँग सम्बन्धित क्षेत्रहरूमा सक्रियता निकै कम थियो,’ कोस्मिना भन्छिन् । च्याटजीपीटीले मानिसको स्मृतिलाई पनि असर गर्यो । निबन्ध बुझाएपछि एआई समूहका मानिसहरूले आफ्नो निबन्धबाट उद्धरण दिन सकेनन् र धेरैले सो काममा आफ्नो कुनै स्वामित्व नभएको महसूस गरे । अन्य अध्ययनहरूले पनि देखाएका छन् कि जब मानिसहरूले च्याटजीपीटी जस्ता एआई उपकरणहरू प्रयोग गर्छन्, उनीहरू सूचना सम्झिन र पुनः प्राप्त गर्न कम सक्षम हुन्छन् ।
यद्यपि यी निष्कर्षहरू अझै समीक्षाको क्रममा छन् तर तिनले अन्य अध्ययनहरूका कुरालाई नै प्रतिध्वनित गर्छन् । युनिभर्सिटी अफ पेन्सिलभेनियाका अनुसन्धानकर्ताहरूको एक अध्ययनले के सुझाव दिन्छ भने जेनेरेटिभ एआई च्याटबोट प्रयोग गर्दा केही मानिसहरू ‘संज्ञानात्मक आत्मसमर्पण’को अवस्थाबाट गुज्रिन्छन् । यसको अर्थ उनीहरूले एआईले भनेको कुरालाई थोरै पनि छानबिन नगरी स्वीकार गर्ने र आफ्नो अन्तर्ज्ञानलाई समेत बेवास्ता गर्ने प्रवृत्ति देखाउँछन् ।
यस्तै प्रभावहरू एआई च्याटबोटको संसारभन्दा बाहिर पनि पाउन सकिन्छ, यहाँसम्म कि जीवन र मृत्युको सवालमा समेत । हालैको एक बहुराष्ट्रिय अध्ययन टोलीले के फेला पार्यो भने ३ महिनासम्म कोलोन क्यान्सरको स्क्रिनिङका लागि एआई उपकरण प्रयोग गर्ने चिकित्सा पेशेवरहरू त्यसपछि सो उपकरणबिना ट्युमर पत्ता लगाउनमा अझ कमजोर देखिए ।
काम एआईलाई सुम्पिँदा मौलिक कार्य उत्पन्न गर्ने धेरै रचनात्मकता गुमाउने जोखिम रहने कोस्मिना चेतावनी दिन्छिन् । कोस्मिनाका अनुसार उनको अध्ययनमा विद्यार्थीहरूले च्याटजीपीटीको सहायताले लेखेका निबन्धहरू धेरै हदसम्म उस्तै देखिन्थे र ती जाँच्ने शिक्षकहरूले निबन्धहरू आत्माविहीन, मौलिकता र गहिराइ नभएका भनेर वर्णन गरेका थिए । १ जना शिक्षकले त विद्यार्थीहरू एकअर्काको छेउमा बसेर लेखेका हुन् कि भनेर सोधेका थिए, किनकि निबन्धहरू उस्तै थिए ।’
यस्ता अध्ययनहरूले एलएलएमले मस्तिष्कमा पार्ने अल्पकालीन प्रभावहरूलाई चित्रण गरे पनि दीर्घकालीन प्रभावहरू भने अझै कम स्पष्ट छन् । कोस्मिना र उनका सहकर्मीहरूको अध्ययनले यसको झलक दिन्छ । प्रारम्भिक अध्ययनको ४ महिनापछि उनीहरूले विद्यार्थीहरूलाई अर्को निबन्ध लेख्न लगाए तर यसपटक च्याटजीपीटी प्रयोग गरेकाहरूलाई कुनै एआई सहयोगविना काम गर्न भनियो । उनीहरूको मस्तिष्कको न्युरल कनेक्टिभिटी (स्नायु जडान) अन्य समूहको तुलनामा कम थियो, जसले सायद उनीहरूले सुरुदेखि नै ती विषयहरूमा राम्ररी ध्यान नदिएको संकेत गर्छ ।
संज्ञानात्मक गिरावट
कम्प्युटेसनल न्युरोवैज्ञानिक तथा ‘रोबोट प्रूफ’की लेखिका भिभियन मिङका अनुसार एलएलएम सोच्नका लागि सकारात्मक उपकरण हुन सक्छन् तर तब मात्र जब हामी हाम्रो मानसिक कार्यहरू उनीहरूलाई सुम्पिएर पूर्ण रूपमा निर्भर हुँदैनौ । तर धेरैजसो मानिसले यो प्रविधिसँग गर्ने अन्तरक्रिया यस्तो नभएकोमा उनी चिन्तित छिन् ।
उनको तर्क उनको पुस्तकका लागि गरिएको अनुसन्धानबाट आएको हो, जसमा मिङले युनिभर्सिटी अफ बर्कलेका विद्यार्थीहरूको एक समूहलाई तेलको मूल्य जस्ता वास्तविक संसारका परिणामहरूको भविष्यवाणी गर्न लगाइन् । उनले पाइन् कि बहुसंख्यक सहभागीहरूले केवल एआईलाई सोधे र उत्तर कपी गरे । उनले उनीहरूको मस्तिष्कको ‘गामा वेभ’ सक्रियता (जुन संज्ञानात्मक प्रयासको सूचक हो) मापन गरिन् र यसमा धेरै कम सक्रियता देखियो । मिङको चिन्ता छ कि यदि थप अध्ययनहरूमा पनि यस्तै नतिजा देखिएमा यसको दीर्घकालीन असर हुन सक्छ । उदाहरणका लागि अन्य अनुसन्धानले कमजोर गामा वेभ सक्रियतालाई जीवनको उत्तरार्धमा हुने संज्ञानात्मक गिरावटसँग जोडेको छ ।
‘यो साँच्चै चिन्ताजनक छ,’ मिङ भन्छिन्, ‘यदि मानिसहरूले यी प्रणालीहरूसँग अन्तरक्रिया गर्ने स्वाभाविक तरिका नै यही हो भने र यी त तीक्ष्ण दिमाग भएका बच्चाहरू हुन्, यो नराम्रो कुरा हो ।’ उनी भन्छिन्, ‘गहिरो सोच नै हाम्रो महाशक्ति हो । यदि हामीले यसको प्रयोग गरेनौँ भने संज्ञानात्मक स्वास्थ्यमा पर्ने दीर्घकालीन असर निकै बलियो हुनेछ । किनकि जब हामी एलएलएममा निर्भर हुन्छौँ, यसमा धेरै कम संज्ञानात्मक प्रयास चाहिन्छ, जबकि स्वस्थ मस्तिष्कका लागि सो प्रयास आवश्यक हुन्छ ।’
सहभागीहरूको एक सानो हिस्सा (१०% भन्दा कम) ले भने फरक ढङ्गले काम गरे र एआईलाई केवल तथ्यांक संकलन गर्ने उपकरणको रूपमा प्रयोग गरे, जसलाई पछि उनीहरू आफैँले विश्लेषण गरे । यी व्यक्तिहरूले अन्य सहभागीहरूभन्दा बढी सही भविष्यवाणी गरे र उनीहरूमा मस्तिष्कको सक्रियता पनि बलियो देखियो ।
झन्डै २ दशकअघि मिङले भविष्यवाणी गरेकी थिइन्, ‘२०–३० वर्षभित्र हामी गूगल म्याप्समाथिको अत्यधिक निर्भरतासँग प्रत्यक्ष सम्बन्धित डिमेन्सिया (विस्मृति) को दरमा सांख्यिकीय रूपमा अर्थपूर्ण वृद्धि देख्नेछौँ । मैले यो कुरा मानिसहरूलाई झस्काउनका लागि भनेकी थिएँ,’ मिङ भन्छिन्, ‘यदि तपाईंले बाटो पत्ता लगाउन सोच्नुपर्दैन भने यसको केही न केही प्रभाव देखिनेछ ।’ हामीसँग यो ठ्याक्कै भविष्यवाणीको तथ्यांक नभए पनि, १३ जनामा ३ वर्षसम्म गरिएको एक अध्ययनका अनुसार जीपीएसको बढ्दो प्रयोग समयसँगै कमजोर ‘स्थानिक स्मृति’सँग जोडिएको पाइएको छ र अर्को अध्ययनका अनुसार कमजोर ‘स्थानिक दिशाबोध’ अल्जाइमर रोगको सम्भावित संकेत हुन सक्छ ।
हाम्रो मस्तिष्क जति धेरै सक्रिय हुन्छ, संज्ञानात्मक गिरावटबाट त्यति नै सुरक्षित हुन्छ । त्यसैले मिङ भन्छिन्, ‘एलएलएमले रचनात्मकता मात्र घटाउँदैन, बरु संज्ञानमा हानी पुर्याउन सक्छ र सम्भावित रूपमा डिमेन्सियाको जोखिम बढाउन सक्छ ।’
एआई उपकरणको प्रयोग बढ्दै जाँदा, हामीले यससँग हानी हुने गरी होइन, फाइदा हुने गरी काम गर्नुपर्छ । मिङको सुझाव छ, ‘अन्ततः हाम्रो लक्ष्य हाइब्रिड इन्टेलिजेन्स (मिश्रित बुद्धिमत्ता) को एकरूप हुन सक्छ, जहाँ मानिस र मशिनले मिलेर कठिन कामहरू गर्छन् । यसको अर्थ हामीले पहिले सोच्नुपर्छ र उपकरणहरूलाई हामीलाई चुनौती दिनका लागि पछि प्रयोग गर्नुपर्छ, न कि उनीहरूलाई सिधै उत्तर दिन लगाउने ।’ कोस्मिना पनि यसमा सहमत छिन् र एउटा आधार निर्माण गर्नका लागि पहिले एआई उपकरणबिना विषयहरू सिक्न र त्यसपछि मात्र एलएलएम प्रयोग गर्नेबारे सोच्न सुझाव दिन्छिन् ।
मिङ आफ्नो सोचाइलाई चुनौती दिनका लागि ‘नेमेसिस प्रम्प्ट’ प्रयोग गर्न सिफारिस गर्छिन् । यसले एआईलाई तपाईंको आजन्म शत्रु वा कट्टर विरोधीको रूपमा काम गर्न प्रम्प्ट दिएर काम गर्छ, त्यसपछि उसलाई तपाईंका विचारहरू किन गलत छन् र तपाईंले तिनलाई कसरी सुधार्न सक्नुहुन्छ भनेर विस्तृत रूपमा व्याख्या गर्न लगाउनुहोस्, जसले तपाईंलाई आफ्ना तर्कहरू स्वीकार गर्नुको सट्टा तिनको रक्षा र परिष्कृत गर्न बाध्य पार्छ ।
उनले सुझाव दिएको अर्को प्रविधि उत्पादक घर्षणलाई प्राथमिकता दिनु र एआईलाई केवल सन्दर्भ दिन र तपाईंलाई प्रश्नहरू सोध्न मात्र भन्नु हो, उत्तरहरू दिन लगाउनु होइन । जब उनले एआई बोटलाई उत्तर नदिने गरी परिमार्जन गरेर यसको परीक्षण गरिन्, उनले धेरै व्यक्तिहरू अझ बढी संलग्न भएको पाइन्।
‘अन्ततः हामी सबै संज्ञानात्मक सर्टकटहरूप्रति सचेत हुनुपर्छ, जुन हाम्रो मस्तिष्कले मन पराउने कुरा हो,’ कोस्मिना भन्छिन् । स्पष्ट रूपमा दीर्घकालीन मस्तिष्क स्वास्थ्यका लागि हामीले आफैँलाई चुनौती दिन जारी राख्नुपर्छ । यस प्रक्रियामा हाम्रो दिमाग, रचनात्मकता र संज्ञानात्मक स्वास्थ्यलाई फाइदा पुग्नेछ । (बीबीसीबाट भावानुवाद)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



























