काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब वितरण प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। अब कर्मचारीहरूले तलब एकैपटक नभई महिनामा दुई चरणमा पाउने व्यवस्था लागू गरिने भएको हो।
हालसम्म मासिक रूपमा एकमुष्ट तलब बुझ्दै आएका कर्मचारीहरूले नयाँ प्रणाली लागू भएपछि प्रत्येक १५ दिनमा तलब–भत्ता प्राप्त गर्नेछन्। यसलाई अर्धमासिक तलब प्रणालीका रूपमा लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ।
यस व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी अघि बढाउन निर्देशन दिइएको छ। नयाँ प्रणाली लागू भएसँगै कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। सरकारले तलब वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यो परिवर्तन गर्न लागेको बताइएको छ।



























