काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुशासनको डन्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् । शनिबार (पुस ५) चितवनमा आयोजित सभामा उनले यस्तो बताएका हुन् । मुलुकको भविष्यलाई सोचेर आगामी कदम चाल्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे ।
उनले भत्केका संरचना बनाउनुपर्ने, टुटेका सपना जोड्नुपर्ने आजको आवश्यकता भएको बताए । “मुलुकको भविष्यलाई सोचेर हामीले कदम अघि बढाउनुपर्छ,” उनले भने, “भत्केका संरचना बनाउनुपर्नेछ । टुटेका सपनाहरूमा आवाज दिनुपर्नेछ । यसरी हामी तयार भएर बसेका छौँ ।”
पुराना राजनीतिक दलले दुःख दिए पनि नयाँले नदिने उनको भनाइ थियो । “पुरानाले दुःख दिए, आजका नयाँहरूले दुःख दिने छैनन् । तपाईंहरूको सबैको साथ, विश्वास र मायाका साथ मुलुकलाई नयाँ दिशामा लैजानेछौँ,” उनले भने, “आगामी चुनाव तपाईं हामी सबैको भविष्यको लागि महत्त्वपूर्ण छ । सुशासनको डन्डा चलाउँदै समयमै निर्वाचन गर्न आग्रह गर्दछु ।”
प्रधानमन्त्री सुशीला कार्कीको अनुहारमा अँध्यारो देखिरहेको भन्दै उनले मुहार उज्यालो पार्न आग्रह गरे ।
लामिछानेले आफूविरुद्धको षड्यन्त्रले कति पनि विचलित नभएको बताएका छन् । उनले देशका निम्ति लड्दा आफूमाथि विभिन्न षड्यन्त्र भए पनि विचलित नभएको बताएका हुन् ।
‘जेनजी’को आन्दोलन र उनीहरूका मागप्रति आफ्नो समर्थन रहेको उनले उल्लेख गरे । जेनजीको आन्दोलनपछि बनेको सरकारले विचलित नभई चुनाव गराउनुपर्नेमा उनले जाड दिए । उनले वर्तमान सरकारलाई रास्वपाको पूर्ण समर्थन रहेको स्पष्ट पारे ।
आफूलाई ‘हेलिकोप्टरमा झुन्डिएर भाग्नेहरू’ले विभिन्न मुद्दा लगाएर जेल पठाएको उनले बताए । निर्वाचनमा त्यस्ता नेताहरूलाई शून्यमा झार्न उनले आग्रह गरे ।
उनले देशमा परिवर्तन चाहनेसँग सहकार्य गर्न छलफल भइरहेको बताए । यसनिम्ति आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनको भनाइ थियो ।
लामिछानेले गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको रगत अझै नसुकेको भन्दै ‘नजिस्काउन’ चेतावनी दिएका छन् । थुनामुक्त भएपछि शनिबार (पुस ५) चितवनमा पहिलोपल्ट सार्वजनिक सम्बोधनमा उनले उक्त विद्रोहलाई कसैले जिस्काउने वा चलाउने आँट नगर्न चुनौती दिए ।
भदौ २३ गते ताकीताकी गोली हानिएपछि भोलिपल्ट आक्रोशित जनताले घरघरबाट विद्रोह गरेका उनले टिप्पणी गरे । “जनताले गरेको विद्रोह हो,” उनले भने, “त्यो विद्रोहलाई कतै कुनामा पसेर जिस्काउने, चलाउने आँट नगर है खबरदार !”
प्रतिनिधिसभा ब्युँताउनेतर्फ नलाग्न पनि उनले खबरदारी गरे । उनले भने, “जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद् ब्युँताउने हो कि भनेर आँखा चम्काउने वा नचाउनेहरू हो, होसियार ! सहिदको रगत अझै सुकेको छैन । सहिदकी आमाको आँसु अझै ओभानो भएको छैन, खबरदार !’




























