काठमाडौं । नेपाल ‘ए’ राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र स्कटल्यान्डविरुद्धको एकदिवसीय अभ्यास शृङ्खलामा विजयी सुरुआत गरेको छ । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । नेपालका लागि देव खनालले ६५ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६३ रन बनाए । उनले उत्कृष्ट प्रदर्शनसँगै दुई क्याच पनि लिए र खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
ओपनर मयन यादवले ४५ रन बनाए भने कप्तान अनिल साहले १८ रन जोडे । देव खनाल र सन्दीप जोराबीच तेस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी बनेको थियो । सन्दीप जोराले ३४ रन बनाए भने पवन सर्राफले १८ बलमा ३१ रनको आक्रामक पारी खेले । अन्तिम समयमा दीपक डुम्रेले ७ बलमा ४ चौका र १ छक्कासहित अविजित २३ रन बनाएपछि नेपालले बलियो योगफल खडा गर्न सफल भयो । रशिद खानले अविजित १४ रन जोडे ।
स्कटल्यान्डका लागि ब्राड्ली करी र सफियान शरिफले समान २ विकेट लिए भने ज्याक जार्भिस, ओलिभर डेभिडसन, ब्रेन्डन म्याकमुलेन र मार्क वाटले समान १ विकेट लिए । २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले राम्रो सुरुआत गरे पनि मध्यक्रममा नेपाली स्पिनरहरूको उत्कृष्ट बलिङका कारण खेलमा फर्किन सकेन । स्कटल्यान्ड ४८ ओभर २ बलमा २३२ रनमा अलआउट भयो ।
स्कटल्यान्डका ओपनर फिन्ले म्याकक्रेथले सर्वाधिक ५२ रन बनाए भने मार्क वाटले ३७ रन जोडे । यी दुईबीच पहिलो विकेटका लागि ८७ रनको साझेदारी भएको थियो । त्यसपछि ज्याक जार्भिसले ४५, म्याथ्यु क्रसले २२, ब्रेन्डन म्याकमुलेनले २१ तथा ओलिभर डेभिडसनले १७ रन बनाए ।
नेपालका बलरमध्ये रशिद खानले ३ विकेट लिए । शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान २ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए । नेपाली स्पिनरहरूले मध्य ओभरमा कसिलो बलिङ गर्दै स्कटल्यान्डलाई दबाबमा राखेका थिए ।
खेलपछि प्रतिक्रिया दिँदै देव खनालले समग्र टोलीको प्रदर्शन उत्कृष्ट रहेको बताए । उनले स्कटल्यान्डजस्तो बलियो टोलीविरुद्धको जित महत्वपूर्ण भएको उल्लेख गर्दै विशेषगरी स्पिनरहरूको प्रदर्शन प्रशंसनीय रहेको बताए ।
यस्तै स्कटल्यान्डका कप्तान रिची बेरिङटनले सुरुआत राम्रो भए पनि मध्य ओभरमा धैर्यता गुमाउँदा हार बेहोर्नुपरेको प्रतिक्रिया दिए । उनले नेपाली बलरहरूले मैदानको अवस्था राम्रोसँग उपयोग गरेको बताए ।
विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअघि नेपाल ‘ए’ ले अभ्यास खेल खेलिरहेको हो । नेपाल ‘ए’ ले अब दोस्रो अभ्यास खेलमा शुक्रबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
आगामी वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच विश्वकप लिग–२ अन्तर्गतको शृङ्खला आयोजना हुँदैछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



























