हेटौँडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौँडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन् ।
काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरूले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्यअनुसार आकस्मिक निरीक्षणमा निस्केका हुन् ।
हेटौँडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिएका थिए । अस्पतालमा उपचाररत बिरामीहरूसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । निरीक्षणपछि मन्त्री बस्नेतले देशभरिका अस्पतालहरूले १० प्रतिशत शैया विपन्नका लागि छुट्याएर नि:शुल्क उपचार गर्नु पर्नेमा जोड दिएका थिए ।
अस्पतालमा उपचाररत बिरामीहरूसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । निरीक्षण पछि मन्त्री बस्नेतले देशभरिका अस्पतालहरूले १० प्रतिशत शैया विपन्नका लागि छुट्याएर नि:शुल्क उपचार गर्नु पर्नेमा जोड दिएका थिए ।
देशका अधिकांश सरकारी अस्पतालहरूले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरी नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’
जनताले गुणस्तरीय उपचार पाउनुपर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउँदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने दावी गरे । कार्यक्रममा हेटौँडा अस्पतालका निर्देशकसहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी गराएका थिए ।
त्यसैगरी मन्त्री बस्नेतले पथलैयास्थित औषधी स्टोरको पनि निरीक्षण गरेर त्यहाँ रहेको औषधी र भण्डारणका विषयमा जानकारी लिएका छन् । सो अवसरमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रिबहादुर खड्कालगायत औषधी स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधी भण्डारणका विषयमा पनि जानकारी गराएका थिए ।