विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । कोशी प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते गर्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
प्रदेश लगानी प्राधिकरणले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनमा ७१ वटा परियोजनाहरू सोकेसिङ भएको जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले कुल अनुमानित लागत करिब १ खर्ब ७३ अर्ब ४९ करोड अनुमान गरिएको बताए । ४५ जना विदेशी लगानीकर्तासँग छलफल गरिएकोमा २० जना विदेशी लगानीकर्ता आउने निश्चित भएको पनि उनले जानकारी दिए ।
लगानी सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, उर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षकका ७१ वटा परियोजना रहेका छन् । जसमा कृषितर्फ ४७० करोड, ऊर्जा क्षेत्रमा २७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधारतर्फ ३१ अर्ब १ करोड, आइटीतर्फ ४७ करोड, पर्यटनतर्फ ३५ अर्ब ९७ करोड लगानी भित्र्याउने लक्ष्य सरकारको छ ।
कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखिएको छ । मल्टिपर्पोज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायतका योजना मोरङ छन् । सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछन् ।
यस्तै, उदयपुरमा क्लिंकर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टरग्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् । धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पोज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायतका योजना छन् ।
सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकारको योजना राखिएको छ । यस्तै, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ । लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, इङ्ल्यण्ड, भारत लगायतका देशका लगानीकर्ता र गैर आवासीय नेपालीहरूको सहभागिता हुने दाबी गरिएको छ । स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी हुने जनाइएको छ ।
लगानी सम्मेलनमा विभिन्न छ वटा विषयगत छलफल सञ्चालन हुनेछन् । कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावना विषयक विषयगत छलफल हुने छन् । पहिलो दिनको मुख्य सत्रका रूपमा कोशी प्रदेशको लगानीमैत्री वातावरण र तीन तहका सरकारहरूबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत गरिने उल्लेख छ ।
लगानी सम्मेलनलाई थप सार्थक बनाउन र नतिजामुखी अभ्यासका लागि लगानी सम्मेलन पूर्व ’प्री मिट’ र सम्मेलनपछि आवधिक रूपमा ’फलो अप मिटिङ’ गरी परियोजनाकर्तालाई परेका अप्ठ्यारा खुलाउँदै लैजाने नीति प्रदेश सरकारले लिएको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले बताए । लगानी सम्मेलनको लागि लगानीको सहज वातावरण बनाउनको लागि भन्दै मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटा ऐन अध्यादेश मार्फत संशोधन गरेको छ । त्यस्तै १६ वटा बुँदामा नीतिगत प्रतिबद्धता पनि सरकारले सार्वजनिक गरेको छ । लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड बजेट छुट्याएको छ । सम्मेलनको सचिवालय व्यवस्थापनको लागि ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।




























