काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
देशमा बाढी-पहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरूको सङ्क्रमण पनि बढ्ने खतरा रहेकोले देशभरिका स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधी, उपकरणसहित आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले हाम्रोजस्तो भूगोल भएको देशका जतिबेला पनि आपतकाली आउन सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर आपतकालीन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्नेगरी पूर्व तयारी आवश्यक रहेको बताए ।
मन्त्री बस्नेतले भने, ‘आपतकाल कति बेला आउँछ अन्दाज गर्न सकिँदैन । हाम्रो देशमा हरेक वर्षजसो बाढी-पहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौं भने उपचार सेवाबाट वञ्चित हुनु पर्ने अवस्था रहँदैन ।’
आपतकालीन अवस्था आउनुभन्दा पहिले नै हामीले कम्तीमा पनि सम्भावित क्षेत्रहरूमा खाद्यान र औषधी पुर्याउन सकेको खण्डमा आपतकालीन अवस्थामा पनि उपचार सेवा दिन सकिने बताउँदै मन्त्री बस्नेतले सीमित स्राेत र साधनकाबीच पनि उपचार सेवा प्रदान गर्नुपर्ने स्वास्थ्यकर्मीको दायित्व भएको स्मरण गराए ।
यसको लागि सरकारले सम्भावित क्षेत्रमा औषधी पठाइसकेको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले आपतकालीन अवस्थाको स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने गरी छुट्टै फण्डको व्यवस्था नभएको बताउँदै आपतकालीन अवस्थाको उपचार सेवा प्रदान गर्नका लागि एउटा छुट्टै फण्ड बनाउने गरी आफूले पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘आपतकालीन उपचार फण्डमा सबै दाताहरूले पनि सहयोगको हात अगाडि बढाउनु आवश्यक छ ।’
कार्यशालालाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थाको उपचारका लागि देशभरिका २५ वटा अस्पतालहरूलाई हब हस्पिटल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको बताए । उनले भने, ‘ कुनै ठाउँमा सङ्कट आइपर्दा सबै एक ठाउँमा आएर सङ्कट व्यवस्थापन गर्न सक्षम छौं ।’
सातवटै प्रदेशमा आपतकालीन सेवा केन्द्रमार्फत् काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरूले गरिरहेको डा. सिंहले बताए ।
विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले आपतकालीन अवस्थाका बेला समेत उपचार सेवा प्रभावित नहोस् भन्ने कुरा दिमागमा राखेर सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताए ।
आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेर मात्र नहुने बताउँदै उनले त्यस्तो बेला आवश्यक औषधी र जनशक्तिको पनि उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य सङ्गठन नेपाल सरकारलाई सहयोग जारी राख्ने बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गुणस्तर मापन तथा अनुगमन महाशाखाका निर्देशक डा. मदन उपाध्याय र मन्त्रालयका अतिरिक्त सचिव डा. टङ्क बारा कोटीले आपतकालिन उपचार सेवा दिन स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्नु पर्नेमा जोड दिएका थिए ।
शनिवारसम्म चल्ने कार्यशालामा विश्व स्वास्थ्य सङ्गठन हेड क्वाटर, सेरोका विज्ञहरूसहित सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरू, फोकल पर्सन र आपतकालिन उपचारमा संलग्न स्वास्थ्यकर्मी सहभागी छन् ।