काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री कार्कीले राप्रपासँगको मुख्य सहकार्यमा प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्ने बताउँदै आएका छन् । राप्रपाले पनि एमालेलाई नै सघाउने निष्कर्षमा पुगेको छ । राप्रपा संसदीय दलका नेता तथा वर्तमान सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले यही सरकारलाई समर्थन गरेर जाने कुरामा पार्टीभित्र निर्णय भइसकेको बताएका छन् । उनले पार्टीकै निर्णय बमोजिम आजै ११ बस्ने संसदीय दलको औपचारिक बैठकबाट मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएर अघि बढ्ने दाबी गरे ।
कोशी प्रदेशमा मुख्यमन्त्री कार्की सरकारमा सहभागी जनता समाजवादीले जेठ १७ गते र माओवादी केन्द्रले २४ गते सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । सरकारमा अहिले एमालेको ४० र राप्रपाको ६ सिटसहित ४६ सिटको समर्थन देखिन्छ । ९३ सदस्यीय कोशी प्रदेश सभाबाट विश्वासको मत प्राप्त कम्तीमा ४७ सिट आवश्यक छ । एक सिट जुटाउनका लागि मुख्यमन्त्री कार्की राजनीतिक दौडधुपमा केन्द्रित छन् ।
सरकार छाडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा पुगेको माओवादी र जसपा तथा सुरुदेखि नै प्रतिपक्षमा रहेको नेकपा एकीकृत समाजवादीको सिट संख्या ४७ रहेको छ । तर १३ सिट रहेको माओवादीबाट बाबुराम गौतम सभामुखमा निर्वाचित भएका कारण मत विभाजनका क्रममा विपक्षीसँग पनि ४६ मात्रै हुनेछ ।
प्रदेश सभामा कुनैपनि प्रस्तावमा मत बराबरी भएमा सभामुखलाई निर्णायक अन्तिम मत दिने संवैधानिक अधिकार भएपनि सरकार जोगाउने र ढाल्ने विषयमा सभामुखलाई मत दिँदा सभामुखको भूमिकामाथि नैतिक प्रश्न र विवादित बन्ने भन्दै कानुनविद्हरूले पनि अनुचित भनिसकेका छन् ।
संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था रहेको छ ।