एमालेका संकटमोचक शेरधन राई

एमालेका संकटमोचक शेरधन राई

नेकपा माले र मार्क्सबादीको एकीकरणपछि बनेको नेकपा एमाले पटकपटक विभाजन हुँदासमेत देशकै ठूलो पार्टीको रुपमा स्थापित छ । यो पार्टीलाई २०५४ सालमा भएको छैठौँ महाधिवेेशनमा फरक विचार राख्दै वामदेव गौतम, सीपी मैनाली, अशोक राई, राधाकृष्ण मैनालीलगायत नेताहरुले विभाजन गरे । यो विभाजनको सबैभन्दा ठूलो प्रभाव झापा र पूर्वी पहाडमा परेको थियो ।

यो विभाजनबाट झापामा वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक नाम चलेका सबै नेता विभाजको पक्षमा लागे । उहाँकै नेतृत्वमा झापा विभाजनकारीलाई धुलो चटाउदै एमालेले विरासत जोगाएको थियो । यस्तै संकट आइपरेको थियो, भोजपुरमा पनि । २०४९ र २०५१ को निर्वाचनमा शानदार जित हासिल गरेको भोजपुरमा विभाजनपछि निर्वाचित सांसदहरू, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नाम कहलिएका सबै नेता विभाजनको पक्षमा उभिनु भएको थियो । त्यो बेला भोजपुरमा एमालेको नेतृत्व गर्ने नेताको संकट परेको थियो । त्यहीबेला एक जना युवालाई नेकपा एमालेको जिल्ला नेतृत्व गर्न जिम्मेवारी दिइयो । उहाँ हुनुहुन्थ्यो, शेरधन राई ।

अनेरास्ववियुको केन्द्रीय नेतृत्व गरिरहनु भएका राईलाई भोजपुरमा एमाले बचाउने अभिभारासहित पठाइयो । विभाजनका संकटमा नेतृत्व गर्नु आफैँमा चुनौतीपूर्ण कार्य थियो । २५ वर्षको युवा उमेरमा एमालेको जिल्ला सचिव बनेर अग्निपरीक्षा दिन हिँड्नुभएका राईले आफू अब्बल रहेको प्रमाणित गर्नुभयो । महिनौँ दिनसम्म गाउँगाउँमा संगठन बनाउँदै हिँड्नु भएका राईको कुशल संगठानिक क्षमता र नेतृत्वले २०५६ सालमा भएको संसदीय निर्वाचनमा भोजपुर एमाले सूर्य चिह्न र झण्डा फहरायो । आफूसहित दुवै निर्वाचन क्षेत्रमा जित हासिल गरेर एमालेको लामो विराशतलाई जोगाउन सफल हुनुभयो । यही कामले मात्रै एमालेको संकट टरेन । जनयुद्धको नाममा चलेको सशस्त्र विद्रोहले भोजपुरमा समेत प्रभाव पार्‍यो । सशस्त्र विद्रोहको निशानामा एमालेका कार्यकर्ता परे । गाउँमा संगठन विस्तार गर्न राक्ने र एमालेका कार्यकर्तालाई अपहरण, कुटपिट र अपमान गर्ने शृंखला सुरु भयो । यो संकटमा पनि गाउँगाउँमा पुगेर कार्यकर्ताको मनोबल बढाउँदै वार्ताको नेतृत्व उहाँले नै गर्नु भएको थियो । विभिन्न जातका नाममा स्थापित समूहहरूले लगाउने जातीय नारा, पहिचानको नाममा जनतालाई दिग्भ्रमित पार्ने अभिव्यक्तिलाई प्रतिवाद र प्रतिरोध गर्नु आफैमा चुनौती थियो । यो कार्यमा पनि शेरधन राईको नेतृत्व अब्बल रह्यो ।

२०६२/६३ को जनआन्दोलनपछि पनि भोजपुरमा एमालेको संकट टरेन । २०६९ सालमा पहिचानवादीको नाममा फेरि एमाले विभाजन हुन पुग्यो । एमालेमा लामो नेतृत्व गरेका अशोक राई, रकम चेम्जोङ, राजकुमार राईलगायतका नेताहरू पहिचानवादीको नाममा एमालेलाई खण्डित गर्ने मनासयले पूर्वी पहाडमा केन्द्रित हुनुभयो । यो संकटमा कार्यकर्ता जोगाउँदै सांगठानिक र वैचारिक रुपमा प्रतिवाद गरेर एमालेको विरासत जोगाउने भूमिकामा शेरधन राई अग्रपंतिमा उभिनुभयो । फलस्वरुप २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेले भोजपुरको दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गर्‍यो ।

विभाजन होइन, सग्लो एमाले निर्माण गर्न उहाँको भूमिका युद्ध मैदानको कमाण्डरभन्दा कम छैन । त्यतिमात्र होइन, प्रचण्डको दाउपेचमा माधव नेपाल र झलनाथ खनालले पार्टी विभाजन गर्दा होस् वा अन्य थुप्रै संकटमा । एमालेको रक्षार्थ सतीसालझैँ उभिन्न सक्ने शक्तिशाली फिल्ड कमाण्डर शेरधन राई हुन् भन्दा अत्युक्ति नहोला । पछिल्लो समयमा पूर्वमा पहिचानवादीले एमालेका नेतृत्व र संगठनप्रति निरन्तर प्रहार गरिरहेका छन् । एमालेमाथि विभिन्न आरोप लगाउने र कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गरिरहेका छन् । अराजनीतिक समूहले एमालेको कार्यक्रम बिथोल्ने र नेतृत्वप्रति अभद्र ब्यवहार गरिरहेका छन् ।

खासगरी संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्बाङको निधनपछि पूर्वमा एमालेलाई संकट नै परेको थियो । यो जटिल अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले संकटमोचकको रुपमा शेरधन राईलाई विश्वास गरेर कोशी प्रदेशको इन्चार्ज बनाउनुभयो । जब राईको नेतृत्वमा कोशी प्रदेशको फिल्डमा मोर्चा कसियो, एमालेप्रतिको आक्रमण विस्तारै घटेर गएको छ । जेन–जी विद्रोहपछि पनि नेतृत्व र पार्टी संगठनको रक्षाका लागि उहाँको भूमिका सशक्त छ । एमालेको सांगठानिक जिम्मेवारीमा तीन कार्यकाल भोजपुर जिल्ला सचिव, एक कार्यकाल अध्यक्ष, वैकल्पिक केन्द्रीय सदस्य, पूर्ण केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य र स्थायी कमिटी सदस्य भएर सफल जिम्मेवारी पूरा गर्नुभएको छ ।
उहाँ २८ बर्षको उमेरमै भोजपुरबाट २०५६ सालमा सांसद बन्नु भएको थियो । उहाँ २०७० सालको दास्रो संविधानसभा निर्वाचनमा निर्वाचित भई २०७२ सालमा सञ्चारमन्त्री बन्नुभएको थियो । २०७४ सालमा भोजपुरबाटै प्रदेशसभा सदस्य निर्वाचित भई कोशी प्रदेश (साविक प्रदेश नंं.१) का संस्थापक मुख्यमन्त्री बन्नुभयो । पार्टीले दिएको दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर उहाँले सफल कार्यकाल पूरा गर्नुभएको छ । सग्लो र बलियो संगठन भएको एमाले निर्माण गर्न राईको सशक्त भूमिका छ । देशको सबैभन्दा ठूलो पार्टी एमाले ११औं महाधिवेसनको संघारमा पुग्दा शेरधन राईजस्ता नेता नेतृत्वमा पुग्नुपर्छ भन्ने आमकार्यकर्ता र एमाले मतदाताको आशा–भरोसा दुवै छ । जबजब पार्टीको नेतृत्व र संगठनमा संकट पर्छ, त्यसबेला सधँै एकता र एकीकृत पार्टीको पक्षमा उभिने राई संकटमोचक बुटी हुनुहुन्छ भन्दा फरक पर्दैन । विभाजन र संकटमा कहिलै नडगमगाएका मृदुभाषी राई एमाले जोगाउने एक जना कर्मशील योद्धा हुनुहुन्छ । त्यसैले ११ औँ महाधिवेशनबाट एमालेको नेतृत्वमा शेरधन राईलाई पुर्‍याउन सके सबैको हित हुनेछ ।

राई एमालेको राजनीतिमा एक पर्खर नेताका रुपमा पनि चिनिनुहुन्छ । उहाँले आफूले पाएको अवसर र चुनौती दुवै सफलतापूर्व पूरा गर्नुभएको छ । अब पनि उहाँ अवसरको खोजीमा हुनुहुन्छ । पार्टीको महाधिवेशनले उहाँलाई दिने अवसरमा पनि उहाँ पक्कै सफल बन्नुहुनेछ । अहिले एमालेमा चारैतिरबाट भइरहेको प्रहारमा राईले दरिलो खुट्टा बनाएर पार्टीलाई मजबुत बनाउन पनि आफ्‌नो तर्फबाट सक्दो गर्नुहुनेछ भन्ने बुझ्‌न सकिन्छ । युवा उमेरमा पनि उहाँसँग लामो राजनीतिक अनुभव छ । केन्द्रमा सञ्चारमन्त्री र प्रदेशको मुख्यमन्त्रीजस्तो महत्वपूर्ण पदमा रहँदा उहाँले आफ्‌नो कौशलता देखाइसक्नु भएको छ ।

अझ पहिलोपटक प्रदेशमा गठन भएको प्रदेश सरकारको नेतृत्व गर्नु चानचुने कुरा थिएन । प्रदेशको नामाकरण मात्र होइन, सबै संरचना पनि बनाउनुपर्ने थियो । शून्यबाट प्रदेश सरकारलाई अगाडि बढाउनुपर्ने बेला पनि उहँँले सरकारको सही नेतृत्व गर्नुभयो । यसले पनि उहाँको क्षमतालाई दर्शाउँछ । अहिले एमालेको महाधिवेशन सामान्य अवस्थाको जस्तो हुँदैछैन । यो विशेष परिस्थितिमा हुँदै छ । पार्टीमाथि प्रहार भइरहेका बेला बलियो नेतृत्व स्थापित गरेर पार्टीलाई मजबुत बनाउने अवसर र चुनौती दुवै अहिलेको महाधिवेशनलाई छ ।

लेखक एमालेका युवा नेता हुनुहुन्छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।