के हो कांग्रेसको जरा अभियान ?

के हो कांग्रेसको जरा अभियान ?

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै ‘जरा अभियान’ नामक देशव्यापी कार्यक्रम सुरु गरेको छ।

पार्टीले संगठन सुदृढीकरण र महाधिवेशनको तयारीलाई सँगसँगै अघि बढाउने उद्देश्यसहित देशका सबै ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो। यो अभियान आइतबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ। शनिबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममार्फत खटाइएका प्रतिनिधिहरूलाई अभियानको उद्देश्य, कार्ययोजना र सञ्चालन विधिबारे प्रशिक्षण दिइएको थियो। उक्त कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले पार्टीलाई तल्लो तहदेखि बलियो बनाउने र महाधिवेशनलाई व्यवस्थित बनाउने लक्ष्यसहित ‘जरा अभियान’ अघि सारिएको बताए।

उनका अनुसार यो अभियान चार प्रमुख विषयमा केन्द्रित रहनेछ। पहिलो, १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित रूपमा अघि बढाउने; दोस्रो, पार्टीको सांगठनिक सुदृढीकरण; तेस्रो, निर्वाचनको समीक्षा गर्दै नागरिकसँग प्रत्यक्ष संवाद; र चौथो, पार्टीलाई सामाजिक गतिविधिसँग जोड्ने। यी चारै पक्षलाई एकसाथ अघि बढाएर कांग्रेसलाई सक्रिय, जिम्मेवार र जनमुखी बनाउने योजना रहेको उनले स्पष्ट पारे। महाधिवेशन तयारी र संगठन सुदृढीकरणअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरण गर्ने कामलाई प्राथमिकतामा राखिएको छ। यसका लागि पार्टीले आउँदो वैशाखसम्मको समयसीमा तोकेको छ। यस अवधिमा सबै पुराना सदस्यहरूको विवरण अद्यावधिक गरिनेछ भने नयाँ सदस्यलाई समेत पार्टीमा समेट्ने योजना छ। यसले संगठनलाई थप व्यवस्थित र प्रतिनिधिमूलक बनाउने विश्वास गरिएको छ।

त्यस्तै, अभियानअन्तर्गत केन्द्रीय प्रतिनिधिहरूले पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बेहोरेको हारबारे समीक्षा गर्नेछन्। विशेषगरी फागुन २१ गतेको निर्वाचन परिणामलाई लिएर स्थानीय तहका नेता–कार्यकर्ता, आमनागरिक तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष संवाद गरिनेछ। यसबाट कमजोरी पहिचान गर्दै आगामी रणनीति तयार पार्ने उद्देश्य रहेको पार्टीले जनाएको छ।
केन्द्रस्तरमा सभापति गगन थापाले बुद्धिजीवीहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ भने जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले स्थानीय स्तरमा यस्तै प्रकारका छलफलहरू सञ्चालन गर्नेछन्। यसले पार्टी नेतृत्व र जनताबीचको दूरी घटाउने र नीति निर्माणमा जनमत समेट्ने अपेक्षा गरिएको छ।

‘जरा अभियान’को अर्को महत्वपूर्ण पाटो भनेको पार्टीलाई सामाजिक गतिविधिमा सक्रिय बनाउनु हो। कांग्रेसले अब केवल राजनीतिक गतिविधिमा सीमित नभई समाजसँग प्रत्यक्ष जोडिने योजना बनाएको छ। यसअन्तर्गत वडादेखि केन्द्रसम्मका नेता तथा कार्यकर्तालाई विभिन्न सामाजिक कार्यमा सहभागी गराइनेछ। सरसफाइ, जनचेतना, सहयोग तथा समुदायमुखी कार्यक्रममार्फत पार्टीको छवि सुधार्ने र जनविश्वास पुनः स्थापित गर्ने लक्ष्य राखिएको छ। समग्रमा, ‘जरा अभियान’ नेपाली कांग्रेसको संगठनलाई तल्लो तहसम्म बलियो बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने दीर्घकालीन रणनीतिक अभियानका रूपमा अघि सारिएको छ। महाधिवेशनको तयारीसँगै पार्टीलाई नयाँ ऊर्जा दिने र भविष्यका राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्यसहित यो अभियान सञ्चालनमा ल्याइएको हो।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।