पेरिस । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र खसालिएको विमानका दोस्रो वायुसैनिक लाई उद्धार गरिएको र उनी सुरक्षित रहेको बताएका छन् ।
उनले आफ्नो निर्देशनमा सबैभन्दा घातक हतियारसहित दर्जनौँ सैन्य विमान पठाएर उद्धार गरिएको र वायुसेनिक घाइते भए पनि निको हुने बताएका छन् भने इरानको क्रान्तिकारी गार्डले खोजीमा खटिएको अमेरिकी विमान नष्ट गरेको जनाएको छ ।
इरानी आक्रमणपछि बहरेनको एक अज्ञात सुविधास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र कुनै मानवीय क्षति नभएको, साथै संयुक्त अरब इमिरेट्सको आल्मुनियम उद्योग लक्षित गरी मिसाइल र ड्रोन आक्रमण भएपछि त्यहाँको वायु प्रतिरक्षा प्रणाली सक्रिय गरिएको छ ।
कुवेतका दुई विद्युत् उत्पादन तथा पानी प्रशोधन केन्द्रहरू ड्रोन आक्रमणबाट क्षतिग्रस्त भई दुई उत्पादन इकाइ बन्द भएका छन् । कुवेत सहरको सरकारी भवनमा पनि ठूलो क्षति पुगेको छ तर कुनै मानवीय क्षति भएको छैन । साथै कुवेती सेनाले मिसाइल र ड्रोन रोक्न प्रतिरक्षा प्रणाली सञ्चालन गरेको जनाएको छ ।
इरानबाट प्रक्षेपण गरिएका मिसाइलहरूले इजरायललाई लक्षित गर्दा जेरुसेलममा कम्तीमा छ वटा ठूलो विस्फोट सुनिएका र तेल अविव तथा मध्य क्षेत्रका भागमा आक्रमण हुँदा पाँच जना घाइते भएका छन्, साथै यमनबाट इजरायलतर्फ पाँचौँ मिसाइल प्रहार भएको इजरायली सेनाले जनाएको छ ।
अमेरिकी–इजरायली आक्रमणमा इरानको अर्दबिल प्रान्तका जाफराबाद र गेर्मी क्षेत्रमा तीन जनाको मृत्यु र तीन जना घाइते भएका छन् । भने इरानका परमाणु केन्द्र, व्यापारिक टर्मिनल, सिमेन्ट कारखाना र पेट्रोकेमिकल केन्द्रमा आक्रमण हुँदा पेट्रोकेमिकल क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ । बुशेहर परमाणु केन्द्र नजिक एक सुरक्षाकर्मी मारिएका छन् तर विकिरण स्तरमा वृद्धि भएको छैन ।
इरानले ४८ घण्टाभित्र शान्ति सम्झौता नगरे संरचना ध्वस्त पार्ने ट्रम्पको चेतावनी अस्वीकार गर्दै त्यसलाई असन्तुलित र मूर्खतापूर्ण भनेको छ भने ट्रम्पले तेहरान आक्रमणमा धेरै सैन्य नेताहरू मारिएको दाबी गरेका छन् । इरानले हर्मुज जलडमरूमध्यबाट इराकी जहाजलाई छुट दिएको छ । संयुक्त राज्य अमेरिकाले कासिम सोलेमानीका कथित आफन्तलाई पक्राउ गरेको तर इरानले अस्वीकार गरेको छ । इजरायलले लेबनानको टायर सहरमा आक्रमण जारी राखेको छ र टर्कीका राष्ट्रपतिले युद्ध अन्त्यको आह्वान गरेका छन् । एएफपी




























