आईपिएल दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित

आईपिएल दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल) २०२६ अन्तर्गत शनिबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।

घरेलु मैदान अरुण जेट्ली रंगशालामा भएको दिनको पहिलो खेलमा मुम्बईले प्रस्तुत गरेको १६३ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै सहज रूपमा पूरा गर्यो। उत्कृष्ट ब्याटिङ प्रदर्शनका कारण दिल्लीले खेलभरि नियन्त्रण कायम राख्दै महत्वपूर्ण जित हात पार्न सफल भयो।

दिल्लीको जितमा समिर रिज्वी नायक सावित भए। उनले ५१ बलको सामना गर्दै ७ चौका र ७ छक्का प्रहार गरी शानदार ९० रन बनाए। उनले पारी सम्हाल्दै टोलीलाई जिततर्फ डोहोर्‍याउने क्रममा महत्वपूर्ण भूमिका खेले। ओपनर पथुम निशंका पनि उत्कृष्ट लयमा देखिए। उनले ३० बलमा ६ चौका र १ छक्काको सहयोगमा ४४ रन बनाएर रिज्वीलाई राम्रो साथ दिए।

मध्यक्रममा डेबिड मिलर २१ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए। यद्यपि केएल राहुल १ रनमा आउट भए भने नितिश राना रनको खाता खोल्न नसक्दै पेभिलियन फर्किए। बलिङतर्फ मुम्बईका लागि मिचेल स्यान्टनेर र दिपक चहरले समान १/१ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितिमा कप्तानी सम्हालेका सूर्यकुमार यादवले उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले ३६ बलमा ३ चौका र २ छक्काको मद्दतले ५१ रन बनाए।

ओपनर रोहित शर्मा २६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाएर आउट भए भने नमन धीरले २८ रनको योगदान दिए। मिचेल स्यान्टेनर १८ रनमा अविजित रहे। दिल्लीका बलरहरूले सन्तुलित प्रदर्शन गरे। मुकेश कुमारले २ विकेट लिए भने लुंगी एन्गिडी, विप्रज निघम, कप्तान अक्षर पटेल र टी नटराजनले समान १/१ विकेट लिए।

यस जितसँगै दिल्ली क्यापिटल्सले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्दै ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उता पहिलो खेल जितेको मुम्बई इण्डियन्सले भने दोस्रो खेलमा हार बेहोर्दै छैटौं स्थानमा झरेको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।