काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशमाथि शानदार जित दर्ता गरेको छ भने गण्डकी प्रदेशले कोशी प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो स्थिति सुधार गरेको छ ।
शनिबार जनकपुरधाममा भएको खेलमा एपीएफले कर्णालीलाई १० विकेटले हरायो । कर्णालीले दिएको १०८ रनको सामान्य लक्ष्य एपीएफले मात्र १२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । एपीएफका लागि ओपनर आसिफ शेखले ३८ बलमा अविजित ६५ रन बनाए भने दीपक बोहराले ३४ बलमा अविजित ४२ रन जोडे ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेश ३६ ओभरमा १०७ रनमै समेटिएको थियो । कर्णालीका अर्जुन घर्तीले सर्वाधिक ३८ रन बनाए भने दीपेन्द्र रावतले २५, रविन्द्र शाहीले १८ र सुनिल धमलाले १७ रन जोडे । एपीएफका कमलसिंह ऐरी र अभिषेक गौतमले समान ४–४ विकेट लिए भने कप्तान रोहित पौडेलले १ विकेट हात पारे ।
यस जितसँगै एपीएफले प्रतियोगितामा दोस्रो जित निकालेको छ । ६ खेलबाट एपीएफको ५ अंक पुगेको छ भने कर्णालीको समान खेलबाट ३ अंक रहेको छ । यस्तै वीरगञ्जमा भएको अर्को खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गर्यो । गण्डकीले दिएको २२८ रनको लक्ष्य पछ्याएको कोशी ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रनमै सीमित भयो ।
कोशीका लागि दीपेश कँडेलले अविजित ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । आशिष थापा मगरले ३० रन योगदान गरे । गण्डकीका सिव्रिन श्रेष्ठले ३ विकेट लिए भने अपराजित पौडेल र सुवास भण्डारीले समान २–२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । गण्डकीका अर्जुन कुमालले उत्कृष्ट १०२ रनको शतकीय इनिङ खेले भने कप्तान विपिन खत्रीले अविजित ७६ रन बनाए । दुवैले सातौं विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
यो जितसँगै गण्डकीले पनि प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै ६ खेलबाट ५ अंक जोडेको छ । कोशी भने ६ खेलमा १ अंकसहित तालिकाको पुछारमा रहेको छ । प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी कुल १० टोली सहभागी छन् । २८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




























