काठमाडाैं । कोहलपुर नगरपालिकाले १३ औं अधिवेशनमार्फत १ अर्ब सात करोडको बजेट प्रस्तूत गरेको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममार्फत् ०८०र०८१ का लागि एक अर्ब सात करोड चौहत्तर लाख रुपैयाँको बजेट प्रस्तुत भएको हो । नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख संगीता सुवेदीले बजेट प्रस्तुत गरेकी हुन् ।
आर्थिक वर्ष ०८०र०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ। तहगत नमूना विद्यालय विकास गरी सामुदायिक विद्यालयका टिनका छाना क्रमशः विस्थापित गर्ने, यसै आर्थिक वर्षदेखि स्रोतको मूल्यांकन गरी स्रोतसाधनको समूचित प्रयोगबाट टिनका छाना विस्थापन र जिप्सन जडान कार्य थालनी गरिने भएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारको विकास, शिक्षकहरुलाई प्रविधिमैत्री सीप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाइ आदानप्रदान, ‘विद्यार्थीसँग अग्रज’ कार्यक्रम सञ्चालन गरिने भएको छ । शिक्षक पेशामा क्षमता अभिवृद्धि गर्न र पेशाप्रति सकारात्मक बनाउन ‘म जिम्मेवार शिक्षक’ अभियान सञ्चालन गर्ने नीति अघि सारिएको छ ।
नीति तथा कार्यक्रममा स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी गराउने भएको छ । मानव स्वास्थ्यलाई मध्यनजर गर्दै सरुवा रोग नियन्त्रण, बंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोगी गर्ने नीति लिएको छ । सिकलसेल एनिमिया लगायतका रोगलाई निःशुल्क र नियमित स्वास्थ्य परीक्षण गरी सेवा प्रदान गरिनुका साथै रोगीलाई पुनःस्थापना कार्यक्रम ल्याउने नीतिलाई अगाडि सारिएको छ। पूर्वाधार विकासलाई पनि नीति तथा कार्यक्रममा महत्वका साथ समेटिएको छ ।
त्यसैगरी, नगर क्षेत्रभित्र सञ्चालित ठूला उद्योग व्यवसायहरुमा कम्तिमा ५० प्रतिशत स्थानीय श्रमशक्तिलाई रोजगारीमा आवद्धता गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।