अन्तरिम सरकारलाई चुनावभन्दा दायाँबायाँ हुने छुट छैन

अन्तरिम सरकारलाई चुनावभन्दा दायाँबायाँ हुने छुट छैन

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा चुनाव गराउने स्पष्ट म्यान्डेट पाएको अन्तरिम सरकारले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको यो सरकारको प्रमुख जिम्मेवारी देशलाई निर्वाचनमार्फत स्थिर राजनीतिक मार्गमा लैजानु हो । तर, निर्वाचनको मुखमा बारम्बार मन्त्रिपरिषद् विस्तार हुनु र सरकारका प्राथमिकता चुनावबाहेकका विषयतर्फ मोडिनु राजनीतिक संक्रमणलाई झन् लम्ब्याउने संकेतका रूपमा देखिन थालेको छ ।

जनजी आन्दोलनपछिको अवस्था नेपालका लागि असाधारण राजनीतिक संक्रमणको चरण हो । युवाको नेतृत्वमा उठेको त्यो आन्दोलनले सुशासन, जवाफदेहिता र पुरानो राजनीतिक संस्कृतिको अन्त्यको मागलाई राजनीतिक व्यवस्थापनमा अड्किनु गम्भीर चिन्ताको विषय हो ।

जनजी आन्दोलनले स्थापित गरेको मुख्य सन्देश स्पष्ट छ—राजनीतिक वैधता सडकबाट होइन, जनमतबाट आउनुपर्छ । अन्तरिम व्यवस्था जति नै ‘सहमतिको’ वा ‘सन्तुलनको’ नाममा बनाइए पनि त्यसले दीर्घकालीन स्थायित्व दिन सक्दैन । लोकतन्त्रमा संक्रमणकालको स्वाभाविक अन्त्य निर्वाचन नै हो । त्यसैले फागुन २१ को चुनाव केवल एउटा मितिमा हुने प्रक्रिया होइन, यो जनजी आन्दोलनपछि सिर्जित अनिश्चितताको अन्त्य गर्ने निर्णायक मोड हो ।

चुनाव समयमै र विश्वसनीय ढंगले सम्पन्न भए मात्र आन्दोलनबाट उठेका मागहरूलाई संस्थागत रूपमा सम्बोधन गर्ने बाटो खुल्छ । नयाँ जनादेशले मात्र संविधान, शासन प्रणाली र राजनीतिक संस्कृतिमा आवश्यक सुधारका विषयमा वैध बहस र निर्णय सम्भव बनाउँछ । त्यस विपरीत, चुनावलाई कमजोर बनाउने वा त्यसको ध्यान भड्काउने कुनै पनि गतिविधि संक्रमणलाई लम्ब्याउने र आन्दोलनको मर्ममाथि नै प्रश्न उठाउने कार्य हुनेछ ।

अन्तरिम सरकारले बुझ्नुपर्छ—मन्त्रिपरिषद् कति ठूलो भयो, कुन दल वा समूह कति सन्तुष्ट भए भन्ने कुरा इतिहासले स्मरण गर्ने छैन । इतिहासले स्मरण गर्ने कुरा एकै हो—यो सरकारले समयमै निष्पक्ष चुनाव गरायो कि गराएन । चुनावमा केन्द्रित हुनुपर्ने बेला अन्य राजनीतिक गणनामा अल्झिनु आफैंमा सरकारको असफलताको संकेत बन्न सक्छ ।

अब सरकारसँग समय निकै सीमित छ । प्रशासनिक संयन्त्रलाई पूर्ण रूपमा निर्वाचनमा केन्द्रित गरिनुपर्छ । सुरक्षा, मतदाता शिक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन आयोगसँगको समन्वयमा कुनै पनि ढिलाइ वा राजनीति हुनु हुँदैन । सरकारको हरेक निर्णय, हरेक कदम चुनावलाई सहज, विश्वसनीय र निष्पक्ष बनाउने दिशातर्फ उन्मुख हुनुपर्छ ।

जनजी आन्दोलनले पुरानो राजनीतिक अभ्यासमाथि दिएको चुनौतीको जवाफ चुनावमार्फत दिन सकिएन भने त्यो चुनौती अझ उग्र रूपमा फर्किन खतरा रहन्छ । त्यसैले फागुन २१ को निर्वाचन कुनै विकल्प होइन, अनिवार्यता हो । यही निर्वाचनले राजनीतिक संक्रमणको पटाक्षेप गर्नेछ र देशलाई नयाँ स्थिरताको चरणतर्फ लैजानेछ । अन्तरिम सरकार इतिहासको कठघरामा उभिएको छ-उत्तीर्ण हुने कि असफल हुने निर्णय उसको हातैमा छ ।

मिति २०८२ मङ्सिर २८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।