एसी मिलानलाई पराजित गर्दै नापोलीको जित उपाधि होड कायमै

एसी मिलानलाई पराजित गर्दै नापोलीको जित उपाधि होड कायमै

काठमाडौं । नापोलीले इटालियन लिग सिरी ए अन्तर्गत भएको खेलमा एसी मिलान लाई १–० ले पराजित गरेको छ। नापोलीको घरेलु मैदान स्टाडियो डिएगो आर्मान्डो माराडोनामा भएको खेलमा एकमात्र गोल खेलको अन्त्यतिर आएको थियो।

बेन्चबाट मैदान प्रवेश गरेका मात्तेओ पोलितानोले ७९औँ मिनेटमा गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए। पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल हुन सकेन।मिलानका युसुफ फोफानाको प्रहारलाई नापोलीका गोलरक्षक भान्या मिलिन्कोभिच साभिचले उत्कृष्ट रूपमा बचाए। त्यस्तै, नापोलीका स्कट म्याकटोमिनेको प्रयास पनि सफल हुन सकेन।

दोस्रो हाफमा खेल केही खुला बनेको थियो। नापोलीका जियोभाने सिमेओनेको शक्तिशाली प्रहारलाई मिलानका गोलरक्षक माइक माइग्नानले शानदार रूपमा रोक्दै टोलीलाई संकटबाट जोगाए । खेलको ७९औँ मिनेटमा नापोलीले निर्णायक गोल गर्‍यो। अलिसन सान्तोसको पासमा माथियास ओलिभेराले दिएको क्रसलाई पोलितानोले सहजै गोलमा परिणत गरे । त्यसपछि मिलानले बराबरी गोलका लागि प्रयास तीव्र बनायो। सान्तियागो गिमेनेजको हेडर गोल हुनबाट नजिक पुगे पनि सफल हुन सकेन।

यस जितसँगै नापोली ६५ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ७२ अंकसहित शीर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा नापोली ७ अंकले पछि छ। लगातार पाँचौं जित निकालेसँगै नापोलीले उपाधि होडमा आफ्नो दाबेदारी बलियो बनाएको छ।

यद्यपि, एसी मिलानको उपाधि जित्ने सम्भावनामा भने यो हारले ठूलो धक्का पुगेको छ। मिलान हाल ६३ अंकसहित तेस्रो स्थानमा रहेको छ र अब उसले शीर्ष स्थानका लागि कठिन चुनौती सामना गर्नुपर्ने देखिन्छ। नापोलीले यो जित प्रमुख खेलाडी रोमेलु लुकाकुको अनुपस्थितिमा हासिल गरेको हो, जो चोटका कारण बाहिर रहेका छन्। त्यस्तै, डेनमार्कका फरवार्ड रास्मुस होयलुन्ड पनि अस्वस्थताका कारण खेलमा सहभागी हुन सकेनन्, जसका कारण जियोभानेले अग्रपंक्ति सम्हालेका थिए।

समग्रमा, खेल धेरै रोमाञ्चक नभए पनि अन्तिम समयमा आएको गोलले नापोलीलाई महत्वपूर्ण तीन अंक दिलाएको छ। अब बाँकी खेलहरूमा नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जित्ने लक्ष्य नापोलीले अघि सारेको छ।
यसैबीच, युभेन्टसले जेनोआलाई २–० ले हराउँदै शीर्ष चारभित्र पर्ने सम्भावना बलियो बनाएको छ। टुरिनमा भएको खेलमा ग्लेसन ब्रेमरले चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए भने वेस्टन म्याककेनीले १७औँ मिनेटमा अर्को गोल थपे।

गोलरक्षक मिचेले डी ग्रेगोरियोले उत्कृष्ट प्रदर्शन गर्दै जेनोआलाई खेलमा फर्किन दिएनन्। यस जितसँगै युभेन्टस पाँचौं स्थानमा रहँदै माथिल्लो स्थानका टोलीहरूसँगको दूरी घटाउन सफल भएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।