जनमत बटुल्न घरदैलोमा थरिथरि उम्मेदवार

जनमत बटुल्न घरदैलोमा थरिथरि उम्मेदवार

अधिकांश समय राजनीतिको केन्द्र सरकार र संसद् हुन्छ । तर निर्वाचन यस्तो उत्सव हो, जतिबेला राजनीतिको केन्द्रमा जनता हुन्छन् । जनताले दिएको वैधानिक मतमार्फत शक्ति आर्जन गर्दै राजनीतिक प्रतिनिधित्वसहित नेताहरू सत्ता र शक्तिको खिचातानीमा लाग्छन् । जनताका आवाजमा केन्द्रित हुनुपर्ने राजनीति नेताका व्यक्तिगत स्वार्थ केन्द्रित भएको जनगुनासोबिच हुन लागेको निर्वाचनले विश्वसनीय जनप्रतिनिधिको छनोट गर्नेछ ।

फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन आवधिक समयको होइन । २०७९ सालमा भएको निर्वाचनबाट बनेको संसद् ५ वर्ष नपुग्दै विघटन भयो । जेनजी आन्दोलनमार्फत व्यक्त जनआक्रोशले तत्कालीन सरकारलाई अपदस्त मात्रै गरेन, संसद् नै विघटन हुन पुग्यो । संविधानमा लेखिएका प्रावधानलाई सर्सर्ती हेर्दा संसद् विघटनमाथि प्रश्न उठेर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला निर्वाचन कार्यक्रम अगाडि बढेर उत्साहजनक उम्मेदवारी दर्ता भएकाले अब त्यो मुद्दा ओझेलमा परेको छ । अदालती प्रक्रियाले संसद् विघटनको मुद्दामाथि फैसला हुन ढिलाइ भए पनि निर्वाचन कार्यक्रम धमाधम अगाडि बढिरहेको छ । तसर्थ अब निर्वाचन हुनेमा कुनै शंका बाँकी देखिँदैन ।

देशभर १६५ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत ३ हजार ४८४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । जसमध्ये १६५ जना मात्रै निर्वाचित हुनेछन् । तैपनि आवश्यक संख्याभन्दा २० भाग बढी उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

नेपाली राजनीतिका प्रमुख शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा लगायत दलसँग नयाँ उदीयमान शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत चुनावी मैदानमा छन् । सँगसँगै अन्य साना दल र स्वतन्त्र उम्मेदवार पनि चुनावमा होमिएका छन् । निर्वाचनमा पराजय निश्चितजस्तै भएका उम्मेदवार समेत दलीय एजेन्डा जीवित राख्न र व्यक्तिगत छविका लागि चुनावी मैदानमा देखिन्छन् । तर निर्वाचन जित्ने सम्भावना भएका उम्मेदवार दलबलसहित मतदाताको घरदैलोमा पुग्दैछन् ।

निर्वाचन प्रचारमा उम्मेदवारहरूले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक मुद्दालाई प्राथमिकतामा राखेर बहस गर्नुपर्नेमा जातीय, क्षेत्रीय, भौगोलिक, उमेर र लैंगिक मुद्दाहरू बहसको केन्द्रमा हुने गर्छन् । जसले गर्दा जनअपेक्षा पूरा गर्नसक्ने उम्मेदवारको यकिन पहिचान हुन सक्दैन । मतदाताको अपेक्षा विकास र समृद्धि हुने तर मतदान भेगीय, जातीय आधारमा गर्दा अपेक्षा र परिणामबिच तालमेल नमिल्ने खतरा रहन्छ । तसर्थ मतदाताले थरिथरिका उम्मेदवारसँग आर्थिक र सामाजिक मुद्दामा बहस गर्दै उम्मेदवारको क्षमता पहिचान गर्नुपर्छ ।

मतदाताले तत्कालको भाषण कलाबाट मात्रै प्रभावित नभई उम्मेदवारको विगतको अनुभव, कार्यक्षमता, समाजप्रतिको बुझाइ समेतलाई हेरेर उपयुक्त उम्मेदवार निर्वाचित गराउन सके मात्रै निर्वाचनको सार्थकता र लोकतन्त्रको सफलता प्राप्त हुनेछ । मतदाताले समयमै विवेक प्रयोग गर्दै निर्वाचन सकिएपछि पछुताउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

मिति २०८२ माघ ८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।