उच्च चेतनायुक्त सिर्जना र कलाकर्ममा लाग्न राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आग्रह

उच्च चेतनायुक्त सिर्जना र कलाकर्ममा लाग्न राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आग्रह

काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घले १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । आज सम्पन्न महासङ्घको नवौँ महाधिवेशनले विभिन्न १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको हो ।

प्रस्तावमा वर्तमान नेपालको राजनीतिमा सामन्ती संस्कृतिका गतिविधि देखिन थालेको परिस्थितिलाई गम्भीरतापूर्वक लिई यस्ता गतिविधिलाई निस्तेज गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै महासङ्घले विगत केही समयदेखि नेपाली राजनीतिमा देखिएका अराजक गतिविधि, विरोधका नाममा बढ्न थालेका जनहत्या, आगजनी, धनजनको क्षतिजस्ता संविधान विरोधी क्रियाकलापलाई अन्त्य गर्नका लागि लोकतन्त्र पक्षधरलाई हातेमालो गर्दै अगाडि बढ्न आह्वान गरेको छ ।

आधुनिक प्रविधिको विकाससँगै वर्तमान समयमा सामाजिक सञ्जालमा विकृति विसङ्गति, अराजकता र उच्छृङ्खलताजस्ता प्रवृत्ति देखिन थालेकाले महाधिवेशनले त्यस्ता अराजकताको अन्त्य र समुन्नत प्रगतिशील संस्कृति निर्माण र सम्वद्र्धनका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

समाजमा अवशेषका रुपमा विद्यमान वर्गीय, क्षेत्रीय, जातीय, धार्मिक र लैङ्गिक विभेदलाई समूल अन्त्य गर्दै समानतामूलक न्यायपूर्ण समुन्नत समाज निर्माणका लागि दृढ सङ्कल्प महाधिवेशनले गरेको छ । साथै देशको बहुलता र विविधतामा आधारित सामाजिक संरचनालाई बिथोल्ने र आपसी विभेद सिर्जना गर्ने तत्वबाट सचेत रहेर सामाजिक सद्भावका साथ अगाडि बढ्न महाधिवेशनले आह्वानसमेत गरेको छ ।

एमालेका पूर्वमहासचिव जननेता मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनवाद र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को दर्शनलाई जनवादी संस्कृति निर्माणको मार्गदर्शक सिद्धान्त बनाइ अगाडि बढ्न महाधिवेशनबाट पारित प्रस्तावमा आह्वान गरिएको छ ।

नेपाली गीत, सङ्गीत, नृत्य, चलचित्र, कला र सिर्जनाका क्षेत्रमा देखिएका समाज तथा संस्कृति विरोधी गतिविधिलाई निस्तेज पार्दै समाजोपयोगी सिर्जनकर्ममा जुट्न महाधिवेशनले संस्कृतिकर्मीलाई आह्वान गरेको छ । कला वा साहित्यलाई निराशा, कुण्ठा, पलायन र जीवनविरोधी अन्तर्वस्तु सम्प्रेषणको माध्यम नबनाएर जीवनमुखी युगीन आवश्यकता बहन गर्नसक्ने उच्च चेतनायुक्त सिर्जना र कलाकर्ममा लाग्न महाधिवेशनले जोड दिएको प्रस्तावमा उल्लेख गरिएको छ ।

प्रगतिशील संस्कृतिकर्मीका विचार र व्यवहारमा देखिने विरोधाभासलाई अन्त्य गरी जन्मदेखि मृत्युसम्मका संस्कारगत कार्यमा र सामाजिक व्यवहारमा प्रगतिशील चरित्र लक्षित सांस्कृतिक नीति निर्माण गर्न एमाले समक्ष महाधिवेशनले आग्रह गरेको छ । देशका सरकारी तथा निजी सञ्चारमाध्यममा प्रगतिशील गीतसङ्गीत तथा साहित्यलाई सम्मानजनक रुपमा प्रसारण तथा प्रकाशन गर्नका लागि महाधिवेशनले माग गरेको छ ।

नेपालका सबै भाषाको अन्वेषण, संरक्षण र सम्वद्र्धन गर्न तथा तिनका सिर्जना, अनुवादका माध्यमबाट जनवादी, प्रगतिशील र प्रगतिवादी कलासाहित्यको विकास तथा विस्तार गर्न महाधिवेशनले प्रतिबद्धता व्यक्त गरेको छ । महाधिवेशनमा केशव सुवेदीको संयोजकमा गठित समसामयिक प्रस्ताव लेखन समितिको सदस्यमा प्राडा जीवेन्द्रदेव गिरी, प्राडा ऋषिराम शर्मा, प्राडा धु्रव घिमिरे, प्राडा देवी नेपाल र यशोदा अधिकारी रहेका थिए ।