महिला फुटबल टोलीको आक्रोश : राजनीतिक खेलले हाम्रो अवसर खोस्यो

महिला फुटबल टोलीको आक्रोश : राजनीतिक खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडिले अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउनु परेपछि गहिरो निराशा र आक्रोश व्यक्त गरेका छन् । टोलीकी फरवार्ड रेखा पौडेलसहित खेलाडीहरूले भावनात्मक अपिल जारी गर्दै आफूहरूलाई खेल्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

खेलाडीहरूले अन्तर्राष्ट्रिय खेल केवल अवसर मात्र नभई सपना, सम्मान र अस्तित्वसँग जोडिएको विषय भएको उल्लेख गरेका छन् । वर्षौंको मेहनत, त्याग र प्रतिबद्धताका बाबजुद मैदानमा उत्रिन नपाएको अवस्थाले गहिरो पीडा दिएको उनीहरूको भनाइ छ । “हामी सधैं प्रतिस्पर्धाका लागि तयार थियौं, तर खेल्न नपाउने अवस्थाले निराश बनाएको छ,” रेखाले बताइन् ।

नेपालले थाइल्यान्डमा अप्रिल १२ देखि सुरु हुने फिफा अन्तर्राष्ट्रिय सिरिज गुमाएको हो । उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा कंगोसँग प्रतिस्पर्धा गर्ने तालिका थियो भने दोस्रो खेल अप्रिल १५ मा हुने तय थियो । चार राष्ट्र सहभागी हुने सिरिजमा थाइल्यान्ड, नेपाल, कंगो र न्यु क्यालेडोनियाको सहभागिता रहने तय भएको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन महिनाका लागि निलम्बन गरेपछि नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिन बाध्य भयो । त्यसपछि फिफाले नेपालको स्थानमा इन्डोनेसियालाई समावेश गर्ने निर्णय गरेको छ ।

यस घटनापछि खेलाडीहरूले प्रशासनिक विवादको प्रत्यक्ष असर आफूहरूको करियरमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । “हामीले जीवनका महत्वपूर्ण वर्षहरू मैदानमा समर्पित गरेका छौं, धेरै अवसरहरू गुमाएका छौं, तर देशका लागि खेल्ने सपना कहिल्यै छोडेनौं,” खेलाडीहरूको अपिलमा उल्लेख छ ।

यस्तै, राष्ट्रिय टोलीकी गोलकिपर तथा पूर्वकप्तान अन्जिला तुम्बापो सुब्बाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएकी छन्। उनले एक दशक लामो मेहनत राजनीतिक स्वार्थका कारण केही मिनेटमै नष्ट भएको आरोप लगाएकी छन् ।

उनले लेखेकी छन्, “१० वर्षको संघर्ष, घाम–पानी, चोटपटक र अभाव सहेर बनाएको हाम्रो पहिचान आज राजनीतिक खेलले खरानी बनाइदियो। अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु हाम्रो लागि पर्व जस्तै हो, तर अन्तिम समयमा अवसर खोसिँदा कस्तो पीडा हुन्छ, त्यो हामी खेलाडीले मात्र बुझ्छौं ।”

अन्जिलाले खेल क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेपप्रति आक्रोश व्यक्त गर्दै खेलाडीको भविष्यसँग खेलबाड नगर्न आग्रह गरेकी छन्। “हामी देशका लागि खेल्न चाहन्छौं, कसैको अहंकारका लागि होइन। खेललाई खेलकै रूपमा रहन दिनुपर्छ, राजनीतिको अखडा बनाउनु हुँदैन,” उनले भनिन् ।

उनले आउने पुस्ताको भविष्यप्रति समेत चिन्ता व्यक्त गर्दै प्रश्न उठाएकी छन्, “आजका निर्णयले भोलिका खेलाडीलाई के सन्देश जान्छ? यस्तो अवस्थामा कसले आफ्नो जीवन फुटबलमा समर्पण गर्छ ?”
खेलाडीहरूले वर्तमान परिस्थितिका बाबजुद आफ्नो आत्मविश्वास र समर्पण कायम रहेको बताएका छन् । उनीहरूले सबै सरोकारवालालाई खेलकुदलाई सकारात्मक, सुरक्षित र प्रेरणादायी वातावरणमा अघि बढाउन आग्रह गरेका छन् ।

“हामी खेल्न चाहन्छौं, देशको झण्डा गर्वका साथ फहराउन चाहन्छौं । हाम्रो यात्रा रोकिने छैन,” उनीहरूको सन्देशमा भनिएको छ, “हामीलाई केवल खेल्न पाउने अधिकार र सही मार्ग सुनिश्चित गरियोस् ।”

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।