काठमाडौं । एस्टोनिक्स म्यानेजमेन्ट प्रा.लि. ले आयोजना गर्दै आएको नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ लाई थप आकर्षक बनाउने तयारीस्वरूप लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेच सँग सहकार्य गरेको छ ।
शुक्रबार काठमाडौंको रोयल सिंगी होटलमा आयोजित कार्यक्रममा एस्टोनिक्सका सीईओ विकास अग्रवाल र नेपहपको श्रीपेचका संस्थापक सुदीप पोखरेल ले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘रियालिटी शो पार्टनर’का रूपमा गरिएको यो सहकार्य एनकेएल सिजन २ र नेपहपको श्रीपेच सिजन ३ दुवैका लागि लागू हुनेछ ।
आगामी जेठ २२ गते (जुन ५) देखि काठमाडौंको दशरथ रंगशाला कभर्ड हल मा सुरु हुने एनकेएल सिजन २ मा ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विराटनगर बाहुबली, जनकपुर नाइट्स (डिफेन्डिङ च्याम्पियन), काठमाडौं माभेरिक्स, पोखरा लेकर्स, बुटवल बुल्स र धनगढी वाइल्डक्याट्स सहभागी रहनेछन् ।
सम्झौता अनुसार नेपहपको श्रीपेचका र्यापरहरूले एनकेएलका ६ वटै टिमका लागि फरक–फरक एन्थम तयार गर्नेछन्। शीर्ष ३० प्रतिस्पर्धी छनोटपछि शोका दुई एपिसोड एनकेएल थिममा निर्माण गरिनेछ भने छनोट भएका ६ र्यापरलाई एनकेएलले जनही ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।
कार्यक्रममा निर्णायकद्वय भियोमा र मानस घले ले खेल र संगीतको यो सहकार्यले दुवै क्षेत्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे। एनकेएल सिजन २ को एन्थम पनि भियोमाले तयार गरेका छन् ।
सीईओ अग्रवालले एनकेएल र नेपहपको सहकार्यले नेपालमा स्पोट्र्स र इन्टरटेनमेन्टलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउने बताए । “हामी एउटा मुभमेन्ट निर्माण गरिरहेका छौं, जहाँ कबड्डीको शक्ति र हिपहपको आवाज मिलेर नयाँ कथा लेख्नेछ,” उनले भने ।
त्यस्तै, एस्टोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार वेगानी ले एनकेएल सिजन २ मा सहभागी हुन विश्वका उत्कृष्ट खेलाडीहरू उत्साहित रहेको जानकारी दिए । उनका अनुसार १६ देशका ९ सयभन्दा बढी विदेशी खेलाडीले नाम दर्ता गराएका छन् र प्लेयर ड्राफ्टमार्फत टिमहरूले खेलाडी छनोट गर्नेछन् ।
एनकेएल सिजन २ को प्रसारण कान्तिपुर म्याक्स टिभी एचडी बाट हुने जनाइएको छ । कबड्डीलाई व्यावसायिक खेलका रूपमा स्थापित गर्ने उद्देश्यसहित सुरु गरिएको एनकेएलले यस सिजनमा खेलसँगै संगीतलाई जोड्दै नयाँ प्रयोग गर्न लागेको छ, जसले विशेषगरी युवा पुस्तामा थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




























